टीकापुर जेठ २९ गते ।
कैलालीको टीकापुरमा अस्थायी कोरोना अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको छ। जिल्लाका सात स्थानीय तह मिलेर टीकापुरको सिटीहलमा तयार गरिएको अस्थायी अस्पताल सञ्चालनमा आएको हो। टीकापुर अस्पतालमा कोरोना संक्रमित नअटेपछि सिटीहलमा अस्थायी अस्पताल तयार गरिएको हो ।
बुधबार स्थानीय तहका जनप्रतिनिधि र टीकापुर अस्पतालबीच भएको छलफलमा टीकापुर अस्पतालले प्राविधिक सहयोग गर्ने र आर्थिक व्ययभार स्थानीय तह मिलेर गर्ने सहमति भएको छ ।
‘चिकित्सकको परामर्श लगायत कार्य टीकापुर अस्पतालले गर्नेछ’, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले भने– ‘आइसोलेसनमा ड्युटी हरेक स्थानीय तहका स्वास्थ्यकर्मीले १५–१५ दिन गर्ने सहमति भएको छ ।’ रावलका अनुसार आइसोलेसनमा उपचारमा खट्ने स्वास्थ्यकर्मीका लागि समेत त्यही बस्ने व्यवस्था मिलाइएको छ ।
केही दिनअघि टीकापुर अस्पताल विकास समितिको समन्वयमा बसेको स्थानीय तह सहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ शैयाको आइसोलेसन कक्ष अपुग भएकाले टीकापुरको सिटीहलमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो।
Discussion about this post