बाँके, असोज ९ गते ।
बाँकेमा बिहीबारदेखि निरन्तर वर्षा भएपछि राप्ती नदी तथा विभिन्न खोला–नालामा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राखेर सशस्त्र प्रहरीले तटीय क्षेत्रमा माइकिङ र निगरानी बढाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले राप्ती नदी तथा खोला–नालाको जलसतह बढिरहेको छ । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई माइकिङमार्फत सचेत गराउने र सम्भावित जोखिमको निगरानी गर्ने काम भइरहेको गणले जनाएको छ ।
गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सम्भावित विपद्बाट हुन सक्ने मानवीय क्षति न्यूनीकरणका लागि गण मातहतका युनिटलाई परिचालन गरिएको बताए । बिहीबार दिनभर र रातिसमेत तथा शुक्रबार बिहानैदेखि तटीय क्षेत्रमा माइकिङ गरेर स्थानीयलाई सचेत गराउने काम भइरहेको उनले बताए ।
‘बाढी तथा डुबानको सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक जनशक्ति परिचालन गरेका छौं,’ उनले भने, ‘जोखिमयुक्त क्षेत्रमा निगरानीसँगै स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेका छौं ।’
उनका अनुसार सम्भावित विपद्को अवस्थामा तत्काल उद्धार तथा प्रतिकार्यका लागि स्थानीय तह, नेपाल प्रहरीलगायत सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।
सशस्त्र प्रहरीका अनुसार अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस कुण्डा, अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस कचनापुर, बीओपी गंगापुर, नम्बर ३० गण तथा रिजर्भ गण सम्शेरगन्जलगायतका स्थानमा विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सशस्त्र प्रहरीलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको छ ।
गण मातहतका अन्य युनिटमा समेत आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको चन्दले बताए । स्थानीय तहका विपद् फोकल पर्सन, नेपाल प्रहरीलगायत सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी आवश्यकताअनुसार तत्काल उद्धार तथा प्रतिकार्यमा परिचालन हुने गरी सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको उनले बताए ।
सशस्त्र प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचना तथा चेतावनीप्रति सचेत रहन आग्रह गरेको छ । जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न र बाढी तथा डुबानको अवस्था आएमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ ।










Discussion about this post