बाँके फागुन ८ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.१९ जहाँ गल्ली–गल्लीमा मुस्लिम समुदायको बाक्लो बसोबास छ । अहिले यो वडामा राजनीतिक गतिविधिले झन् चहलपहल बढाएको छ।
यतिबेला जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट चुनावी मैदानमा उत्रिएका कमरुद्दिन राईलाई जिताउन यही वडामा नयाँ प्रचार–प्रसार कार्यालय स्थापना गरिएको छ । जसले चुनावी माहोललाई थप ऊर्जा दिएको छ। जसपाबाट बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका कमरुद्दिन राईले वडा नं.१९ मा आफ्नो चुनावी प्रचार कार्यालय स्थापना गर्दै चुनावी अभियानलाई थप तीब्र बनाएका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा उनले जनसम्पर्क, घरदैलो र छलफललाई निरन्तरता पनि दिएका छन्। वडा नं. १९ को सामाजिक संरचना मुस्लिम समुदायमा आधारित छ। यही समुदायका बस्तीहरूमा पुगेर राईले अधिकार, पहिचान र समावेशी प्रतिनिधित्वका मुद्दा उठाउँदै आएका छन्। “हामीलाई सुन्ने र हाम्रो पक्षमा बोल्ने नेता चाहिएको हो,” स्थानीय एक अगुवा भन्छन्, “राईले हाम्रो आवाज संसदसम्म पुर्याउने विश्वास दिलाएका छन्।” प्रचार कार्यालय उद्घाटनसँगै अधिकांश मुस्लिम समुदायका प्रतिनिधिहरूले राईलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
पछिल्ला दिनहरूमा राईको पक्षमा जनलहर बढ्दै गएको छ। क्षेत्र नं.२ मा रहेका मधेशी तथा मुस्लिम समुदायको राजनीतिक अधिकार, प्रतिनिधित्व र समान अवसरको मुद्दा उठाउँदै आएका राईले आफ्नो उम्मेदवारीलाई “अधिकारको आवाज” का रूपमा व्याख्या गरेका छन्। राई भन्छन्, “मधेशी र मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न म संसदीय राजनीतिमा आएको हुँ।
स्थानीय तहमा काम गर्दा पनि मैले समावेशी विकास र समान पहुँचको पक्षमा काम गरेको छु, अब संसदमा गएर त्यसलाई अझ प्रभावकारी रूपमा अघि बढाउने मेरो लक्ष्य छ।” नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदबाट राजीनामा दिएर संघीय संसदको निर्वाचनमा होमिएका राईको यो निर्णयलाई धेरैले ‘ठूलो राजनीतिक जोखिम’ र ‘साहसिक कदम’ का रूपमा लिएका छन्।













Discussion about this post