बाँके फागुन ११ गते ।
निर्वाचन नजिकिँदै जाँदा बाँकेको डुडुवा गाउँपालिकामा चुनावी अभियान तीब्र बनेको छ। उम्मेदवारहरु घरदैलोमा पुग्दै मतदातासँग हातेमालो गरिरहेका छन् । ठूल–ठूला बाचा गरिरहेका छन्। तर स्थानीयको अनुभव भने फरक छ–उनीहरू भन्छन्, चुनाव जितेपछि नेता फर्केर नआउने र वर्षौंदेखिका समस्या उस्तै रहने।
डुडुवा–१ अन्तर्गत पर्ने चौफेरी र आसपासका बस्तीमा पुग्दा स्थानीयको गुनासो एउटै सुनिन्छ–डुवान, शिक्षा, सडक र पुलको अभाव। स्थानीय रंगीलाल यादव भन्छन्, “यहाँ कुनै विकास भएको छैन। नेता जितेर गएपछि फर्किँदैनन्। डुवानको समस्या उस्तै छ। न मन्त्री हुँदा न सांसद हुँदा कसैले विकास गरेनन्।”
उस्तै पीडा सुनाउँछन् मिश्री प्रसाद, उनका अनुसार बर्खायाममा बाढी र डुवानले गाउँ नै अस्तव्यस्त हुन्छ। “हामीले जिताएर मन्त्री बनायौँ, धेरै प्रतिबद्धता पनि जनाइयो। तर विकास कहिल्यै भएन। अब हाम्रो वस्तीको माग सम्बोधन गर्ने नेतालाई मात्रै मत दिन्छौँ,” उनले भने।
स्थानीयवासीका अनुसार छिटइपुरा, टेपरी र चौफेरीमा शिक्षा क्षेत्र अत्यन्तै कमजोर छ। एउटा विद्यालयमा दुई जना मात्रै शिक्षक हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको उनीहरूको भनाइ छ। यातायात पनि ठूलो समस्या बनेको छ–पुल नहुँदा बर्खामा आवतजावत लगभग ठप्प हुन्छ।
अर्का स्थानीयले गुनासो गरे, “यहाँ पुल छैन, सडक छैन। विकास भएको छैन। चुनावमा जिताएर पठायौँ, मन्त्री बनायौँ। तर हाम्रो वस्ती उस्तै छ। सामाजिक सञ्जालमा धेरै विकास गरेको दाबी सुनिन्छ, तर यहाँ त केही देखिँदैन।” कधैलाल यादव पनि भन्छन्, “राप्ती नदीमा पुल नहुँदा ठूलो समस्या छ। जितेर गएका नेता मन्त्री भए, तर हाम्रो वस्तीको समस्या फेरिएन।”
स्थानीय बासिन्दाहरुको भनाइअनुसार डुडुवाका धेरै बस्तीहरूमा अझै पनि आधारभूत पूर्वाधार–सडक, पुल, विद्यालय र बाढी नियन्त्रणका संरचनाको अभाव छ। हरेक चुनावमा उम्मेदवारहरूले आश्वासन त दिन्छन्, तर कार्यान्वयन कमजोर रहेको उनीहरूको आरोप छ। यसपटक भने मतदाताहरू सचेत देखिएका छन्। उनीहरू भन्छन्–“बाचा होइन, काम गर्ने नेतालाई मात्रै मत दिन्छौँ।”













Discussion about this post