काठमाडौं फागुन २८ गते ।
नेपाल बार एसोसिएसनले सिरहा जिल्ला अदालत अगाडि रहेको बारको कार्यालय र अधिवक्ता मधुसुदन यादवको ल फर्ममा भएको विस्फोटको घटनाप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ।
बुधबार दिउँसो करिब ४ः०० बजे भएको उक्त विस्फोटमा बारको कार्यालयमा क्षति पुग्नुका साथै कर्मचारी सौरभ यादव घाइते भएका छन्।
एसोसिएसनले घाइते यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस किसिमको आपराधिक घटनाको तत्काल निष्पक्ष छानबिन गर्न माग गरेको छ। साथै, दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष जोडदार माग गरिएको छ।
महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा अदालत, कानुन व्यवसायीहरूको ल फर्म, निजी निवास एवं सार्वजनिक स्थलहरूमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
बारले यस्ता घटनाले विधिको शासन र सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको भन्दै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।













Discussion about this post