बाँके, भदौ ३१ गते ।
राप्ती नदीमा छाडिएका दुर्लभ घडियाल गोहीको संख्या बढ्नुको साटो घट्दै गएको छ। बाँके राष्ट्रिय निकुञ्जले तीन वर्षदेखि मध्यवर्ती क्षेत्रअन्तर्गत राप्ती नदीमा घडियाल छाड्दै आए पनि प्राकृतिक बासस्थान र आहारा अभावका कारण संरक्षण चुनौतीपूर्ण बनेको हो।
राप्ती सोनारी–१ की घडियाल संरक्षणमा सक्रिय शारदा खुनाका अनुसार अहिलेसम्म नदीमा २५ वटा घडियाल छाडिएको छ। गत वर्षको अनुगमनमा १२ वटा मात्र देखिएको बताउँदै उनले यस वर्षको गणना हुन बाँकी रहेको जानकारी दिइन्। नदी आसपास मानिसको आवतजावत बढ्नु र घडियालको मुख्य आहारा माछा घट्नुले समस्या बढाएको उनको भनाइ छ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले राप्तीमा आश्रित समुदायलाई आयआर्जनको विकल्प नदिएसम्म घडियाल संरक्षण कठिन हुने बताए। नदीमा माछा मार्ने र सुन चालेर जीविकोपार्जन गर्ने खुना, कुमाल, बादीलगायत समुदायलाई पर्यटनसँग जोडेर वैकल्पिक रोजगारी दिनुपर्ने उनको भनाइ छ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले सिमसार क्षेत्र अतिक्रमण, माछाको कमी र नदीमा बढ्दो मानवीय आवतजावतले घडियाल संरक्षणमा चुनौती थपिएको बताए।
घडियाल नेपाल र भारतमा मुख्य रूपमा पाइने दुर्लभ प्रजाति हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। घडियाल मारेमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
मगर गोहीभन्दा शान्त स्वभावको घडियालले मानिसलाई सामान्यतया आक्रमण गर्दैन। सफा पानीमा बस्ने र माछालाई मुख्य आहारा बनाउने भएकाले राप्ती यसको उपयुक्त प्राकृतिक बासस्थान मानिए पनि नदी आसपासको बढ्दो मानवीय गतिविधिले संरक्षणमा चुनौती थपिएको निकुञ्जले जनाएको छ।











Discussion about this post