बाँके, असोज २ गते ।
नेपालगन्ज पर्यटन परिषद्ले विश्व पर्यटन दिवसका अवसरमा नेपाल–भारत सीमा जमुनाहा नाकामा सरसफाइसँगै भारतबाट नेपाल आउने पर्यटकलाई भव्य स्वागत गर्ने भएको छ ।
२७ सेप्टेम्बर अर्थात् असोज ११ गते मनाइने विश्व पर्यटन दिवसलाई लक्षित गर्दै परिषद्ले यस्तो तयारी गरेको हो । नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख पर्यटन हब तथा प्रवेशद्वारका रूपमा विकास गर्ने उद्देश्यले भदौ २५ गते परिषद् गठन गरिएको हो ।
परिषद्का अध्यक्ष केशवराज न्यौपानेले नेपालगन्जसहित पश्चिम नेपालको पर्यटनको एकीकृत विकास, प्रचारप्रसार र बजार विस्तारका लागि होटल, रेस्टुरेन्ट, ट्राभल तथा पर्यटन व्यवसायलाई एउटै छातामुनि ल्याइएको बताए ।
परिषद्मा होटल व्यवसायी संघ बाँके, होटल संघ नेपाल (हान) बाँके र नाट्टा बाँकेको संस्थागत प्रतिनिधित्व छ ।
परिषद्का महासचिव भीमलाल कँडेलले बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्याकेज बनाउने तयारी भइरहेको बताए । भारतीय सीमावर्ती सहरका पर्यटकलाई लक्षित गरी सीमापार पर्यटन प्रवद्र्धन गर्ने तथा होटल, रेस्टुरेन्ट र पर्यटन सेवाको गुणस्तर बढाउने योजना रहेको उनले बताए ।
उनका अनुसार नेपालका विभिन्न प्रदेश तथा भारतका सीमावर्ती सहरका होटल, ट्राभल कम्पनी र टुर अपरेटरलाई जोडेर पर्यटन बजार विस्तार गरिनेछ । विवाह, रिसेप्सन तथा पारिवारिक समारोहका लागि होटल, बैंक्वेट, खानपान, सजावट र पर्यटन प्याकेजसमेत विकास गरी नेपाल र भारतीय बजारमा प्रचार गर्ने तयारी छ ।
नेपालगन्जसहित बाँकेमा एक दर्जनभन्दा बढी तारे होटल, करिब ३ हजार साना होटल तथा रेस्टुरेन्ट र दुई दर्जनभन्दा बढी ट्राभल एजेन्सी रहेको परिषद्ले जनाएको छ ।
परिषद्ले सरकारी निकाय, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र र पर्यटन व्यवसायीसँग समन्वय गरी नेपालगन्जलाई पर्यटन, आतिथ्य र व्यापारको पश्चिमी केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको अध्यक्ष न्यौपानेले बताए ।










Discussion about this post