बाँके, जेठ ३० गते।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको टोलीले दुई दिनको अवधिमा बाँके र बर्दियाका विभिन्न स्थानमा सञ्चालन गरेको निगरानी तथा चेकजाँच अभियानका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १५ लाख ८९ हजार रुपैयाँ बराबरका सामान तथा एक सवारी साधन बरामद गरेको छ।
प्रहरीका अनुसार जेठ २८ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह दशगजा क्षेत्रमा रहेको एक होटलबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइ बेवारिसे अवस्थामा राखिएको १३० थान लेडिज सुट पिस बरामद गरिएको थियो। उक्त सामानको अनुमानित मूल्य एक लाख ३० हजार रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय जयसपुर, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।
सोही दिन बर्दियाको बाँसगढी नगरपालिका–४, मटेरिया क्षेत्रमा पनि बेवारिसे अवस्थामा राखिएका विभिन्न कपडा तथा दरी बरामद गरिएको छ। बरामद सामग्रीमा ६० थान तन्ना, १०० थान सादा साडी, २३ थान हरियो धोती र २० थान दरी रहेका छन्। ती सामग्रीको अनुमानित मूल्य एक लाख ९६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियामा पठाइएको छ।
यसैगरी जेठ २९ गते बिहान बाँकेको खजुरा गाउँपालिका–७, गुनाना चोक क्षेत्रमा प्रहरीले भन्सार छली गरी ल्याइएको पेय पदार्थसहित एक गाडी नियन्त्रणमा लिएको छ। बर्दियाको गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय अहमद खानले चलाएको भे १ ख ४०३८ नम्बरको फोर्स गाडीबाट विभिन्न परिमाणका माउन्टेन डिउ बरामद गरिएको हो।
बरामद पेय पदार्थमा २.२५ लिटरका १४४ बोतल, ७५० मिलिलिटरका १९१ बोतल तथा ४०० मिलिलिटरका १७८ बोतल माउन्टेन डिउ रहेका छन्। गाडीसहित बरामद सामग्रीको कुल अनुमानित मूल्य १२ लाख ६३ हजार २४० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धनौली, बाँकेको जिम्मा लगाइएको छ।
प्रहरीले सीमा नाकाबाट हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र विशेष अभियानलाई निरन्तरता दिइएको जनाएको छ। दुई दिनको अवधिमा भएका यी कारबाहीबाट सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रणमा प्रहरी सक्रिय रहेको देखिएको छ।













Discussion about this post