बाँके, जेठ ३० गते ।
पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सम्पन्न प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी, नेपालगन्ज च्याम्पियन बनेको छ।
शुक्रबार नेपालगन्ज रंगशाला परिसरस्थित पौडी पोखरीमा आयोजित प्रतियोगितामा शिखा एकेडेमीले १२३ अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गर्यो। सोफिया रेसिडेन्सियल स्कूल २२ अङ्कसहित द्वितीय तथा स्प्रिङ्डेल एकेडेमी १४ अङ्कसहित तृतीय स्थानमा रह्यो।
प्रतियोगितामा नेपालगन्जका १४ विद्यालयका ८२ जना छात्र–छात्राले सहभागिता जनाएका थिए। विभिन्न उमेर समूहका खेलाडीबीच फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा सम्पन्न भएको थियो।
उत्कृष्ट प्रदर्शनका आधारमा शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र घोषित भए। उनले नगद रु. ५ हजार ५०० सहित सम्मान प्राप्त गरे। त्यसैगरी स्प्रिङ्डेल एकेडेमीकी नित्याश्री दहित उत्कृष्ट छात्रा घोषित भइन्। उनले पनि नगद रु. ५ हजार ५०० सहित सम्मान प्राप्त गरिन्।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ, सचिव नरेन्द्र थापा तथा सल्लाहकार अजितकुमार शर्मा लगायतले पदक, ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले पौडी खेल स्वास्थ्य, अनुशासन र जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण खेल भएको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीमा खेलप्रति रुचि विकास गर्नुका साथै स्वस्थ र अनुशासित जीवनशैली निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।













Discussion about this post