बाँके, जेठ ३० गते।
बाँकेको कोहलपुर–१०, चटारस्थित बागेश्वरी एकेडेमीको आयोजनामा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप शनिबारदेखि सुरु भएको छ।
विद्यालयका प्रधानाध्यापक श्रीधर गोराथोकीका अनुसार प्रतियोगितामा जिल्लाभरका ५९ वटा डोजाङबाट ४५० भन्दा बढी खेलाडी सहभागी भएका छन्। उनले यो प्रतियोगिता केवल प्रतिस्पर्धामा सीमित नभई खेलकुदको एउटा महोत्सवका रूपमा आयोजना गरिएको बताए।
प्रतियोगिताको उद्घाटन गर्दै पूर्ण प्रसाद आचार्यले निजी क्षेत्रबाट आयोजित यस्ता खेलकुद प्रतियोगितामा उल्लेखनीय सङ्ख्यामा खेलाडीको सहभागिता हुनु अत्यन्त उत्साहजनक रहेको बताए। उनले खेलकुदले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू विद्यालय परिसरभित्रका तीन फरक स्थानमा एकसाथ सञ्चालन भइरहेका छन्। प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा खर्च बागेश्वरी एकेडेमीले व्यहोरेको जनाइएको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।
विद्यालयका सञ्चालक समिति अध्यक्ष किशन गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा दिलकुमार तामाङ, रविलाल मिजार, चक्रबहादुर डम्मर पाल, बुद्धिबहादुर थापा, प्रेमबहादुर आले, चक्र चिमाला क्षेत्री, प्रेम पुन तथा सन्तोष शाह लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।













Discussion about this post