बाँके, असार ४ गते ।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी प्रवाह गर्न थालेपछि किसानहरू उत्साहित भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा निर्माण गरिएको बाँधमार्फत सञ्चालन भइरहेको आयोजनाले मर्मतसम्भारको अवधि बाहेक किसानको मागअनुसार वर्षभरि नै नहरमा पानी उपलब्ध गराउँदै आएको छ।
सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार किसानलाई सिँचाइको अभाव हुन नदिन आयोजनाले बाह्रै महिना नियमित रूपमा पानी वितरण गरिरहेको छ।
“किसानको आवश्यकतालाई प्राथमिकतामा राख्दै मर्मतसम्भारको समयबाहेक मागअनुसार नहरमा पानी उपलब्ध गराइरहेका छौँ,” उनले भने, “यसबाट किसानहरूले समयमै धान र गहुँ खेती गर्नुका साथै व्यावसायिक रूपमा बेमौसमी तरकारी उत्पादन गरी अतिरिक्त आम्दानी गर्न थालेका छन्।”
आयोजनाले जिल्लाका ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ। हालसम्म २४ हजार हेक्टर क्षेत्रफलमा प्रत्यक्ष रूपमा नियमित सिँचाइ सेवा उपलब्ध गराइसकेको आयोजनाले जनाएको छ।
यसअघि आकाशे पानीमा निर्भर रहँदै आएका राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका किसानहरूले अहिले नियमित सिँचाइ सुविधा पाएपछि समयमै धानको बीउ राख्न सफल भएका छन्।
राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ पुगेका क्षेत्रमा किसानहरूले धानको बीउ हुर्काइसकेको बताए। उनका अनुसार राप्तीसोनारीका वडा नं. ६ र ७ अन्तर्गत फत्तेपुर क्षेत्रका अधिकांश किसानले समयमै बीउ राखिसकेका छन्।
“सिक्टा सिँचाइ आयोजना यस क्षेत्रका किसानका लागि वरदान सावित भएको छ,” उनले भने।
नियमित सिँचाइ सुविधा पुगेको २४ हजार हेक्टर क्षेत्रका किसानले धान रोपाइँको तयारीस्वरूप समयमै बीउ ब्याड राख्न पाएका छन्। यता, सिँचाइ सुविधा नपुगेका केही क्षेत्रमा किसानहरूले घरायसी मोटर तथा खानेपानीका धाराको पानी प्रयोग गरी बीउ ब्याड तयार गरिरहेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार हालसम्म जिल्लाका करिब ४५ प्रतिशत किसानले धानको बीउ ब्याड राखिसकेका छन्। बाँकेमा वार्षिक रूपमा ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ।
सिँचाइ सुविधाको विस्तारसँगै कृषि उत्पादन वृद्धि, खेतीको समय व्यवस्थापन तथा किसानको आम्दानी बढ्ने अपेक्षा गरिएको छ। सिक्टा सिँचाइ आयोजनाको नियमित पानी आपूर्तिले बाँकेका किसानलाई जलवायु र वर्षामा निर्भरता कम गर्दै कृषि कार्यमा थप आत्मविश्वास प्रदान गरेको छ।













Discussion about this post