कैलाली, असोज ९ गते ।
कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा खसीको भन्दै बाख्राको मासु बिक्री गरेको तथा बसपार्कमा कुकुरको मासु बेच्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले शुक्रबार अत्तरिया बजारको धनगढी लाइनमा रहेको रफिक मासु पसलबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पसल सञ्चालक भारतीय नागरिक ६५ वर्षीय रफिक कुरेसी र कञ्चनपुरको कृष्णपुर घर भएका ४१ वर्षीय गणेश धामी रहेका छन्।
उनीहरूले खसीको भन्दै बाख्राको मासु बिक्री गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए। उनीहरूमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको उनले बताए।
प्रहरीले पसलबाट बरामद गरेको मासु परीक्षणका लागि प्रयोगशालामा पठाएको छ। प्रयोगशाला परीक्षणको प्रतिवेदनपछि मात्र बरामद मासुका सम्बन्धमा थप पुष्टि हुने प्रहरीले जनाएको छ।
यसैगरी, बिहीबार गोदावरी नगरपालिका–१ स्थित बसपार्कबाट कुकुरको मासु बेच्न खोजेको आरोपमा ६५ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो।
कुकुर काटेको सूचना आएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी तिमिल्सिनाले बताए।
गोदावरी नगरपालिका–२ घर भएका नेपालीले अनुसन्धानका क्रममा आफूले खानका लागि स्यालको मासु काटेको बताएका छन्। प्रहरीले उनीबाट बरामद मासु पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ।
सुरेशबाट बरामद भएको मासु कुकुर, स्याल वा अन्य कुन जनावरको हो भन्ने कुरा भने प्रयोगशाला परीक्षणबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।













Discussion about this post