बाँके, मंसिर ८ गते ।
बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा मेलाका क्रममा दुई समूहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ ।
मङ्गलबार बिहान करिब ४ बजे मेलामा सहभागी दुई समूहबीच कुटपिट तथा ढुङ्गामुढा भएको थियो । झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत ढुङ्गामुढा भएपछि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए ।
उनका अनुसार मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले स्थानीय ४२ वर्षीय प्रेमबहादुर थापामाथि कुटपिट गरेपछि दुई समूहबीच झडप भएको थियो । प्रहरीमाथि समेत आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको उनले बताए ।
झडपमा कुटपिटबाट थापा घाइते भएका छन् । प्रहरी नायब निरीक्षक डिलबहादुर गिरीसहित चार जना प्रहरीसमेत घाइते भएको राठौरले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोज सुनारलाई पक्राउ गरेको छ । झडपमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।










Discussion about this post