बाँके, असोज ११ गते ।
बुधबार रातिदेखि परेको अविरल वर्षाले बाँकेमा पाकेर काट्ने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ। जिल्लाका विभिन्न स्थानमा खेतमा पाकेको धान ढलेपछि किसान चिन्तित भएका छन्।
राप्तीसोनारी गाउँपालिका–९ ढकेरीका किसान लोकबहादुर चौधरीको करिब १० कट्ठामा लगाइएको ‘६०६’ जातको मोटो धान खेतमै ढलेको छ। केही दिनमै काट्ने तयारीमा रहेको धान वर्षाले ढालेपछि खेतमै उम्रिने चिन्ता चौधरीलाई छ।
‘केही दिनमा धान काट्ने तयारी गर्दै थियौँ। तर, लगातार परेको वर्षाले धान खेतमै ढलायो,’ उनले भने, ‘पानी परिरहेकाले अहिले केही गर्न सक्ने अवस्था छैन। ढलेको धान नउम्रियोस् भन्ने कामना मात्र गर्न सकिन्छ।’
चौधरीजस्तै ढकेरी आसपासका अन्य किसानको धानबालीमा पनि वर्षाले क्षति पुर्याएको छ। खजुरा गाउँपालिकाका विभिन्न स्थानमा समेत पाकेको धान खेतमा ढलेको किसानहरूले बताएका छन्।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले वर्षाबाट भएको क्षतिको विवरण केही दिनभित्र संकलन गरिने बताइन्। उनका अनुसार मलको अभावका कारण गाँज कम लागेको तथा राधा–४ लगायतका मोटो धान ढल्ने सम्भावना बढी हुन्छ।
‘धानबालीमा भएको क्षतिको यकिन विवरण संकलन भएपछि मात्र वास्तविक अवस्था थाहा हुन्छ,’ उनले भनिन्। ज्ञान केन्द्रले क्षतिको विवरण संकलन गर्न जिल्लाका स्थानीय तहहरूलाई समेत आग्रह गरेको छ।
यसैबीच, निरन्तरको वर्षाका कारण बाढी, डुबान तथा अन्य वर्षाजन्य विपद्बाट पशुपन्छी र बालीनालीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न खजुरा गाउँपालिकाले किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले सूचना जारी गर्दै बाढी तथा डुबानको जोखिम भएका स्थानमा रहेका पशुपन्छीलाई समयमै सुरक्षित र अग्लो स्थानमा सार्न आग्रह गरेका छन्। गोठको अवस्था जाँच गरी पानीको निकास मिलाउन तथा सुक्खा घाँस, दाना, पराल र सफा खानेपानी सुरक्षित रूपमा भण्डारण गर्न पनि पालिकाले अनुरोध गरेको छ।
त्यस्तै, दूषित पानी र कुहिएको दाना पशुपन्छीलाई नखुवाउन, विद्युतीय तारबाट टाढा राख्न तथा बिरामी पशुपन्छी देखिए तत्काल पशु सेवा शाखामा सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ।










Discussion about this post