बाँके, असोज १९ गते ।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बाँके प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा योजना लागू गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए।
भारतबाट फर्किने नेपालीको चापलाई लक्षित गरी नेपालगन्जको जमुनाहा नाका तथा नेपालगन्ज र कोहलपुर बसपार्कमा मंगलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको उनले बताए।
‘भारतबाट आएका नेपालीलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण मिलाउन यात्रु सहायता कक्ष सञ्चालन गर्दै छौँ,’ उनले भने।
यात्रु सहायता कक्षमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरीसमेत परिचालन हुनेछन्। यात्रुलाई आवश्यक जानकारी दिने र गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने व्यवस्था मिलाइएको उनले बताए।
चाडपर्वको सुरक्षा व्यवस्थापनका लागि जिल्लामा नेपाल प्रहरीका एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको एसपी जिसीले बताए। आवश्यकता परे प्रहरी गणबाट थप जनशक्ति परिचालन गरिने उनले जानकारी दिए।
चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा मोबाइल र पैदल गस्ती बढाइएको उनले बताए।
‘सर्वसाधारणलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण बनाउन मोबाइल र पैदल गस्ती बढाइएको छ,’ उनले भने।
चाडपर्वमा भीडभाडको मौका छोपेर हुन सक्ने चोरी तथा पाकेटमारी नियन्त्रणका लागि सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको उनले बताए।
ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही
चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनमा पनि कडाइ गरिएको छ। जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा विभिन्न स्थानमा सवारीसाधन जाँच गर्ने एसपी जिसीले बताए।
तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई तत्काल कारबाही गरिने उनले बताए।
‘ट्राफिक नियमविपरीत कार्य गरेको पाइएमा चालकलाई ठाउँका ठाउँ कारबाही गर्ने नीति बनाइएको छ,’ उनले भने।
चाडपर्वमा मादक पदार्थ सेवन गरी सवारी चलाउने र छिटो गन्तव्यमा पुग्ने नाममा तीव्र गतिमा सवारी चलाउने गरेको विगतको अध्ययनले देखाएको उनले बताए। त्यसलाई नियन्त्रण गर्न जिल्लाका विभिन्न सडकमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।
लामो दूरीका सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले मुख्य सडक तथा राजमार्गमा समेत निगरानी बढाइएको उनले बताए। मापसे, तीव्र गति तथा लापरबाहीपूर्वक सवारी चलाउने कार्य नियन्त्रणका लागि नियमित जाँच गरिने उनको भनाइ छ।
भारतबाट फर्किने यात्रुको सुरक्षा र सहजीकरणका लागि जमुनाहा नाकादेखि बसपार्कसम्म विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध गतिविधि तथा ओसारपसार नियन्त्रणका लागि पनि निगरानी बढाइएको एसपी जिसीले बताए।
चाडपर्वका बेला कुनै समस्या वा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्। सवारी चालकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, तीव्र गति नगर्न र ट्राफिक नियम पालना गर्न पनि उनले आग्रह गरे।










Discussion about this post