बाँके, मंसिर १ गते।
नेपाल प्रहरी विशेष सुरक्षा गण, कोहलपुरले प्रहरी हवल्दार बीरबहादुर वलीलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।
गणमा कार्यरत वलीले जिम्मेवारी इमानदारी, अनुशासन र कर्तव्यनिष्ठाका साथ पूरा गरेको भन्दै उत्कृष्ट प्रहरी छनोट गरिएको हो। उनलाई नगद पुरस्कार र प्रशंसापत्रसहित सम्मान गरिएको गणले जनाएको छ।
वलीले गणका जीर्ण भौतिक संरचनाको पुनर्निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनले भवन, शौचालय, बाथरुम, खानेपानी ट्याङ्की, बाटो र आन्तरिक पेरिमिटर ड्युटी पोस्टको मर्मत तथा व्यवस्थापनमा समन्वय गरेका थिए।
त्यस्तै, गणको एमआई रुममा आवश्यक औषधिको व्यवस्थापन गरी प्रहरी कर्मचारीको स्वास्थ्योपचारमा सहजीकरण गरेको गणले जनाएको छ। कार्यालयको सौन्दर्यीकरण, स्वास्थ्य शिविर, रक्तदान र योग कार्यक्रमलाई व्यवस्थित बनाउन पनि वलीले भूमिका निर्वाह गरेका थिए।
गणका अनुसार वलीले विभिन्न संघसंस्था तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी जिम्मेवारी पूरा गरेका थिए। उनले आफू मातहतका प्रहरी कर्मचारीलाई समेत कामप्रति उत्प्रेरित गर्दै संगठनको नीति, निर्देशन र प्रहरी आचारसंहिताको पालना गरेका थिए।
गण प्रमुख प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले मंगलबार आयोजित कार्यक्रममा वलीलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरे। कार्यक्रममा प्रहरी निरीक्षक सीताराम विष्टलगायत गणमा कार्यरत प्रहरी कर्मचारी सहभागी थिए।
प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने र जिम्मेवारीप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट प्रहरी छनोट गरी सम्मान गरिएको गणले जनाएको छ।










Discussion about this post