काठमाडौं, मंसिर ९ गते ।
नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ ।
सोमबारका लागि पेसी तोकिएको रिटमा नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीका तर्फबाट म्याद बुझ्न बाँकी रहेपछि अदालतले म्याद बुझाएर मुद्दा पुनः पेस गर्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यसअघि मंसिर ४ गते जारी भएको म्याद बुझाई मुद्दा पेस गर्न आदेश दिएको थियो । अदालतका तामेलदारको प्रतिवेदन र केसी पक्षका कानुन व्यवसायीको धारणा सुनेपछि इजलासले म्याद बुझाउने प्रक्रिया पूरा गरेर मुद्दा पुनः पेस गर्न भनेको हो ।
सरकारले तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएर केसीलाई प्रहरी प्रमुख नियुक्त गरेपछि उक्त निर्णयविरुद्ध विवाद अदालत पुगेको हो ।
कार्कीले आफूलाई पूर्ववत् पदमा पुनः बहाल गर्न माग गर्दै कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा मंसिर २ गते सर्वोच्चको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो ।
सोही आदेशअनुसार सोमबार दुवै पक्षलाई छलफलका लागि उपस्थित गराइएको भए पनि म्याद बुझाउने प्रक्रिया पूरा नभएकाले संयुक्त इजलासले मुद्दा पुनः पेस गर्न आदेश दिएको थियो ।










Discussion about this post