बर्दिया, मंसिर ६ गते ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९ खुसलपटुवामा घरभित्र चितुवा पसेपछि स्थानीय त्रसित भएका छन् । ओमप्रकाश भट्टराईको घरमा पसेको चितुवालाई शनिबार राति प्राविधिक टोलीले नियन्त्रणमा लिएर उद्धार गरेको छ ।
साँझ घरभित्र चितुवा देखिएपछि भट्टराई परिवारसहित आसपासका स्थानीयमा त्रास फैलिएको थियो । घटनाबारे जानकारी पाएपछि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक घटनास्थल पुगेका थिए ।
टोलीले डार्ट प्रविधिको प्रयोग गरी चितुवालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि चितुवालाई सुरक्षित रूपमा उद्धार गरी प्राकृतिक बासस्थानमा छोडिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अरविन्द्र यादवले बताए ।
यादवका अनुसार उद्धार गरिएको चितुवा करिब पाँच वर्षको पोथी हो । चितुवा घरभित्र पसे पनि कुनै मानवीय वा भौतिक क्षति नभएको घरधनी भट्टराईले बताए ।
चितुवा बस्तीमा पसेपछि स्थानीयले सुरक्षाको चिन्ता व्यक्त गरेका थिए ।










Discussion about this post