बाँके, साउन १६ गते ।
वर्षायाम सुरु भएसँगै पश्चिम राप्ती नदीको सतह बढ्दा बाँकेका नदी तटीय बस्तीमा यसअघि त्रास बढ्थ्यो। रातभर नदी हेरेर बस्नुपर्ने, घरमा पानी पस्ने हो कि भनेर चिन्ता गर्नुपर्ने र खेतीयोग्य जमिन कटानमा पर्ने समस्या स्थानीयका लागि हरेक वर्ष दोहोरिन्थ्यो।
तर पछिल्ला वर्षमा नदी किनारमा स्थायी तटबन्ध निर्माण हुन थालेपछि राप्तीसोनारीदेखि नरैनापुर र डुडुवासम्मका केही बस्तीमा बाढी र कटानको जोखिम घटेको स्थानीयले बताएका छन्।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, लमही दाङका अनुसार पश्चिम राप्ती नदीको तटीय क्षेत्रमा हालसम्म विभिन्न कार्यक्रममार्फत करिब दुई हजार पाँच सय मिटर स्थायी तटबन्ध निर्माण गरिएको छ। तटबन्ध निर्माणपछि नदीको कटान नियन्त्रण हुनुका साथै खेतीयोग्य जमिन र नदी किनारका बस्ती संरक्षणमा सहयोग पुगेको कार्यालयको दाबी छ।
आयोजना प्रमुख निश्चल छत्कुलीका अनुसार राप्तीसोनारी गाउँपालिका–२ मा मात्रै करिब दुई सय बिघा खेतीयोग्य जमिन संरक्षण भएको छ। उक्त क्षेत्रमा तटबन्ध निर्माण भएपछि नदी कटान र डुबानको जोखिम विगतको तुलनामा घटेको उनले बताए।
“तटबन्ध निर्माण भएका क्षेत्रमा नदीको कटान र बाढीबाट हुने जोखिम घटेको छ,” छत्कुलीले भने, “नदी नियन्त्रणसँगै खेतीयोग्य जमिन र बस्ती संरक्षणमा पनि यसको प्रभाव देखिन थालेको छ।”
उनका अनुसार एसियाली विकास बैंक (एडिबी)को सहयोगमा राप्तीसोनारी–२ मा दुई हजार पाँच मिटर तटबन्ध निर्माण गरिएको छ। विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत दुई सय मिटर तथा नेपाल सरकारको लगानीमा एक सय ३० मिटर तटबन्ध निर्माण भएको छ।
त्यसैगरी राप्तीसोनारी–७ को खल्लाझगडियामा पाँच सय मिटर र डुडुवा गाउँपालिकाको होलियामा दुई सय २० मिटर तटबन्ध निर्माण गरिएको कार्यालयले जनाएको छ।
तटबन्ध निर्माणसँगै राप्तीसोनारीका कचनापुर, महादेवा, मदुई, फत्तेपुर र खल्लाझगडियालगायतका नदी तटीय बस्तीमा बाढी र कटानको जोखिम घटेको स्थानीयको भनाइ छ। नरैनापुर गाउँपालिका–५ र ६ का नदी किनारका बस्तीमा पनि तटबन्धले जोखिम न्यूनीकरणमा सहयोग पु¥याएको छ।
राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूका अनुसार केही वर्षअघिसम्म वर्षायाममा नदीमा पानीको सतह बढेपछि स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका थिए। तटबन्ध निर्माणपछि भने बाढीको त्रास केही कम भएको उनले बताए।
“पहिले पानी बढेपछि रातभर नदी हेरेर बस्नुपर्ने अवस्था थियो,” थारूले भने, “अहिले तटबन्ध बनेपछि त्यस्तो डर केही कम भएको छ। तर सबै जोखिमयुक्त क्षेत्रमा तटबन्ध नपुगेकाले समस्या पूर्ण रूपमा समाधान भएको छैन।”
पश्चिम राप्ती नदीको बाढी र कटान बाँकेका नदी तटीय बस्तीका लागि पुरानै समस्या हो। हरेक वर्ष नदीको धार परिवर्तन र कटानका कारण खेतीयोग्य जमिन बगरमा परिणत हुने तथा बस्ती डुबानमा पर्ने गरेको छ। कतिपय स्थानमा नदीले खेत कटान गर्दा किसानले वर्षौंदेखि गर्दै आएको खेतीसमेत गुमाउने गरेका छन्।
स्थायी तटबन्ध निर्माणले तत्कालीन जोखिम घटाए पनि नदी नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयको भनाइ छ। उनीहरूले निर्माण भएका तटबन्धको नियमित मर्मतसम्भारसँगै बाँकी जोखिमयुक्त क्षेत्रमा पनि तटबन्ध विस्तार गर्न माग गरेका छन्।
आयोजना कार्यालयले पनि पश्चिम राप्तीको तटीय क्षेत्रमा नदी नियन्त्रण, कृषि भूमि संरक्षण र बस्ती सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ। नदीको बहाव, कटानको अवस्था र जोखिमका आधारमा थप संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको कार्यालयको भनाइ छ।
स्थायी तटबन्धले राप्ती किनारका बासिन्दालाई तत्कालको बाढी र कटानबाट राहत दिए पनि नदीसँगै बसोबास गरिरहेका समुदायको दीर्घकालीन सुरक्षा भने अझै चुनौतीकै रूपमा छ। तटबन्धसँगै नदीको बहाव व्यवस्थापन, जोखिमयुक्त बस्तीको संरक्षण र नियमित निगरानीलाई निरन्तरता दिन सके मात्रै पश्चिम राप्तीको बाढीबाट हुने क्षति दीर्घकालीन रूपमा न्यूनीकरण गर्न सकिने स्थानीयको अपेक्षा छ।












Discussion about this post