सल्यान, साउन २३ गते ।
सल्यानमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको छ।
कालिमाटी गाउँपालिका–२ बराहढुँगाका करिब ६२ वर्षीय टोपबहादुर पुन मगरको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार साथीहरूसँग सिकार खेल्न जंगल पुगेका पुन मगरलाई भरुवा बन्दुकबाट अचानक चलेको गोली लागेको थियो। गोली उनको पेटको तल्लो भाग र कम्मरमा लागेको थियो।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धानका प्रक्रिया पूरा गरेको जनाएको छ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले सिकार खेल्न गएका ६ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामा कालिमाटी गाउँपालिका–३ बल्लेका मानबहादुर विक, जुद्रबहादुर रेउले, खुमेन्द्रबहादुर रेउले, सेईतराम थापा र कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहढुँगाका पदमबहादुर श्रीसमगर छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
गोली कसरी चल्यो र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।









Discussion about this post