काठमाडौं, साउन ३१ गते ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले प्राविधिक रूपमा अझै जारी रहेको दुई देशबीचको युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने विषयमा उत्तर कोरियासँग वार्ता गर्न प्रस्ताव गरेका छन् ।
लीले दुवै देशबीचको वास्तविक सीमा क्षेत्र गैरसैन्यीकृत क्षेत्रमा हुन सक्ने मुठभेड रोक्न ‘बहुस्तरीय सुरक्षा प्रणाली’ निर्माण गर्न सुझाव दिएका छन् । साथै, उनले उत्तर कोरियाको परमाणु महत्त्वाकांक्षालाई रोक्ने व्यावहारिक उपायबारे छलफल गर्न पनि प्रस्ताव गरेका छन् ।
उत्तर कोरियाले परमाणु हतियार बोक्न सक्ने ब्यालिस्टिक मिसाइलको लगातार परीक्षण गर्दै आएको छ । यी परीक्षणलाई दक्षिण कोरिया र नजिकैको जापानमाथि दबाब सिर्जना गर्ने तथा आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने प्रयासका रूपमा हेरिएको छ ।
सन् १९५३ मा युद्धविराम सम्झौतामा हस्ताक्षर भएपछि कोरियाली प्रायद्वीपमा दुई देशबीचको प्रत्यक्ष युद्ध रोकिएको छ । तर, दुवै देशले शान्ति सन्धिमा हस्ताक्षर गरेका छैनन् । त्यसैले प्राविधिक रूपमा उनीहरू अझै युद्धकै अवस्थामा छन् । त्यसयता दशकौँसम्म सीमा क्षेत्रमा झडप र तनावका घटना हुँदै आएका छन् ।
जापानी शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको दिनको सम्झनामा मनाइने ‘मुक्ति दिवस’समारोहलाई सम्बोधन गर्दै लीले एक–अर्कालाई धम्क्याउने मनसाय त्यागेर प्रत्यक्ष संलग्न पक्षका रूपमा लामो समयदेखि जारी युद्ध अन्त्य गर्न छलफल सुरु गर्न आह्वान गरे ।
लीले दुवै देश शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक विकास का लागि प्रत्यक्ष बसेर छलफल गर्ने आशा व्यक्त गरे । यस्तो संवादले उत्तर कोरियाको परमाणु क्षमताको विकास रोक्न प्रभावकारी उपायबारे छलफल गर्ने मञ्चसमेत उपलब्ध गराउन सक्ने उनले बताए ।
उत्तर कोरियाले लीको प्रस्तावमा भने अहिलेसम्म प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले भने नेता किम जोङ उनले माल्यार्पण तथा गार्ड अफ अनरसहित देशको आफ्नै मुक्ति दिवस समारोहमा सहभागी भएको समाचार सार्वजनिक गरेको छ ।
उत्तर कोरियाले यसअघि पनि लीका संलग्नता र संवादसम्बन्धी प्रस्ताव अस्वीकार गर्दै आएको छ ।











Discussion about this post