बाँके, असोज १ गते ।
भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनीबाट जलेर नष्ट भएका ३१ हजारभन्दा बढी जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ ।
विसं २०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा आगजनी हुँदा कार्यालय भवनसँगै महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए । त्यसपछि असोज र कात्तिक दुई महिना सेवा बन्द भएको कार्यालयले मङ्सिर १ गतेदेखि भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको छ ।
गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको कार्यालय प्रमुख सन्तोष विकले जानकारी दिए ।
‘जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम धमाधम भइरहेको छ,’ उनले भने, ‘हाम्रोतर्फबाट सकेसम्म सहज रूपमा सेवा प्रवाह गरिरहेका छौँ । एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड भए पनि सेवा प्रवाहमा समस्या नहुनेगरी काम गरिरहेका छौँ ।’
कार्यालय प्रमुख विकका अनुसार विसं २०७४ पछिका स्रेस्ता डिजिटलाइज्ड भएकाले त्यसको स्रेस्ता कायम गर्न खासै समस्या छैन । तर, त्यसअघिका जग्गाको रोक्का विवरण यकिन नहुँदा स्रेस्ता कायम गर्न प्रक्रियागत झन्झट बढी छ ।
‘पुराना स्रेस्तामा रोक्का भए–नभएको यकिन गर्नुपर्ने हुन्छ । त्यसका लागि पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेलगायतका प्रक्रियाले समय लाग्ने गरेको छ,’ उनले भने ।
मालपोत तथा भूमि प्रशासन कार्यालयमा सेवाग्राहीको काममा ढिलासुस्ती हुने गरेको गुनासो रहे पनि प्रक्रिया नबुझ्दा सेवाग्राही आफैँ अलमलमा पर्ने गरेको विकको भनाइ छ ।
‘मालपोत कार्यालयमा सेवा लिन जाँदा ढिलासुस्ती हुन्छ भन्ने जनमानसमा भ्रम रहेको छ । वास्तविकता त्यस्तो होइन, सेवा लिँदा ध्यान नपुगेर हो,’ उनले भने, ‘दैनिक काम गर्ने लेखापढी व्यवसायीलाई सेवाको प्रक्रिया थाहा हुन्छ । तर, सेवाग्राहीले प्रक्रिया नबुझ्दा अलमलमा पर्ने गरेका कारण ढिलाइ हुने गरेको हो ।’
सेवाग्राहीलाई आवश्यक सहयोगका लागि कार्यालयले सेवाग्राही सहायता कक्षसमेत स्थापना गरेको छ । सहायता कक्षमार्फत सेवाग्राहीलाई आवश्यक जानकारी, सहयोग र समन्वय गर्ने काम भइरहेको विकले बताए ।
लेखापढी व्यवसायीमार्फत सेवा लिँदा सेवाग्राहीमाथि थप आर्थिक भार पर्ने भएकाले नागरिक सहायता कक्षमार्फत सेवा लिन उनले आग्रह गरेका छन् ।
विभागको अनलाइन प्रणालीमा समस्या भएको अवस्थामा बाहेक अन्य समयमा सेवाग्राहीको काममा ढिलासुस्ती नहुनेगरी सेवा प्रवाहमा आफूहरू लागिरहेको विकले बताए ।
आगजनीपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल नेपालगन्जको विद्युत् रोडस्थित भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको छ ।










Discussion about this post