बाँके, असोज २ गते ।
नेपालगञ्जमा पहिलोपटक ‘प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप–२०८३’ सुरु भएको छ।
पावरलिफ्टिङ संघ बाँकेको आयोजनामा, राष्ट्रिय पावरलिफ्टिङ महासंघको सहकार्य तथा नेपालगञ्ज उपमहानगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता सुरु भएको हो।
नेपालगञ्जको बीपी चोकस्थित लीला प्यालेसमा असोज २ र ३ गते सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १४२ खेलाडी सहभागी भएका छन्। बाँके जिल्ला पावरलिफ्टिङ संघका अध्यक्ष डा. प्रतीक श्रेष्ठले प्रतियोगितामा १४२ खेलाडी सहभागी भएको बताए।
खेलकुदको विकाससँगै युवालाई खेलकुदमा आकर्षित गर्ने र नेपालगञ्जलाई खेलकुदको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरे। उनले नेपालगञ्जमा राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता हुनु स्थानीय खेलकुद क्षेत्रका लागि महत्वपूर्ण भएको बताए।
“राष्ट्रियस्तरको प्रतियोगिता नेपालगञ्जमा आयोजना हुनु सकारात्मक कुरा हो। खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्छ,” उनले भने, “यसका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्दै जानेछ।”
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले खेलकुदले युवालाई अनुशासनमा राख्न र सकारात्मक गतिविधितर्फ जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए। “विभिन्न जिल्लाबाट खेलाडी नेपालगञ्ज आएर राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनु यहाँको खेलकुद विकासका लागि महत्वपूर्ण अवसर हो,” उनले भने।
उद्घाटन कार्यक्रममा पूर्व वनमन्त्री तथा ओलम्पियन सुरेन्द्र हमाल, नेपालगञ्ज–२ का वडाध्यक्ष मनोज श्रेष्ठ, लक्ष्मण केसी, लवराज श्रेष्ठलगायत सहभागी थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी प्रतीत सिंह राठौर र वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्कालगायतको पनि उपस्थिति थियो।
बाँकेमा पावरलिफ्टिङ खेललाई संस्थागत रूपमा अघि बढाउने प्रयास भइरहेको संघका अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार पावरलिफ्टिङमा स्क्वाट, बेन्च प्रेस र डेडलिफ्ट गरी तीन मुख्य विधा हुन्छन्। पावरलिफ्टिङको पहिलो आधिकारिक प्रतियोगिता सन् १९६४ मा अमेरिकाको यार्क बारबेल कम्पनीले आयोजना गरेको उनले बताए। सन् १९७२ मा एमेच्योर एथलेटिक युनियन (एएयू) ले यस खेललाई आधिकारिक रूपमा दर्ता गरी अघि बढाएको पनि उनले बताए।
बाँकेमा अन्य ‘आइरन गेम्स’का संघसंस्था दर्ता भए पनि पावरलिफ्टिङको आधिकारिक संघ दर्ता हुन नसकेको श्रेष्ठले बताए। निरन्तरको प्रयासपछि संघ दर्ता गर्न सफल भएपछि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सम्भव भएको उनले बताए। “पावरलिफ्टिङलगायत सबै आइरन गेम्सलाई अघि बढाउन संघसंस्था, जिम सञ्चालक र खेलप्रेमीबीच सहकार्य आवश्यक छ,” उनले भने, “खेलाडीको सहभागिता बढाउने र उनीहरूलाई प्रोत्साहित गर्ने काममा सबै पक्षको भूमिका हुनुपर्छ।”
प्रतियोगितामा खेलाडीको व्यवस्थापनलाई प्राथमिकता दिइएको उनले बताए। खेलाडीको मनोबल बढाउन प्रतियोगिताको व्यवस्थापन व्यवस्थित हुनुपर्ने उनको भनाइ छ। देशका विभिन्न जिल्लाबाट प्रतियोगितामा सहभागी हुन नेपालगञ्ज आएका खेलाडीलाई धन्यवाद दिँदै श्रेष्ठले प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।











Discussion about this post