बाँके, असोज २५ गते ।
राजापुर नगरपालिकाका जनप्रतिनिधि तथा बाँके युनेस्को क्लबको टोलीले बाल अधिकार संरक्षण र विद्यालयमा बालमैत्री वातावरण निर्माणका लागि सञ्चालित कार्यक्रमको प्रगति तथा प्रभावबारे जानकारी लिन दुई विद्यालयमा संयुक्त अनुगमन गरेको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत राजापुर नगरपालिका–१० स्थित जनचेतना माध्यमिक विद्यालय र वडा नं. ८ स्थित भेरी माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी, वडा नं. ५, ८ र १० का वडाध्यक्ष, महिला तथा बालबालिका इकाइ प्रमुख अनिता चौधरी, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, परियोजना संयोजक ईश्वर बिक र क्षेत्रीय पर्यवेक्षक प्रमिशा थारु सहभागी थिए । अनुगमनका क्रममा परियोजना संयोजक बिकले कार्यक्रमको सहजीकरण गरेका थिए ।
जनचेतना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षकसँग छलफल गर्दै परियोजनाअन्तर्गत सञ्चालित गतिविधिको अवस्था तथा प्रभावबारे जानकारी लिइएको थियो । छलफलमा ‘स्टिक्स एन्ड स्टोन्स’ सत्र, अभिभावक शिक्षा कार्यक्रम र समुदाय–प्रहरी साझेदारी अभियानको समीक्षा गरिएको थियो ।
कार्यक्रमले बाल अधिकार, व्यक्तिगत सुरक्षा, मानव बेचबिखन रोकथाम, सकारात्मक अभिभावकत्व र बाल संरक्षणमा समुदायको भूमिकाबारे चेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताए ।
त्यसैगरी, भेरी माध्यमिक विद्यालयमा कक्षाकोठाको अवलोकन गर्नुका साथै प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग अन्तरक्रिया गरिएको थियो । छलफलमा बाल संरक्षणसम्बन्धी विद्यार्थीको चेतनामा आएको सुधार, सुरक्षित सिकाइ वातावरण, बालबालिकाको सुरक्षामा शिक्षकको भूमिका तथा विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यबारे समीक्षा गरिएको थियो ।
अनुगमन टोलीले विद्यालयमा बाल संरक्षणसम्बन्धी गतिविधिलाई नियमित बनाउन र उजुरी तथा घटनाको जानकारी लिने एवं आवश्यक निकायमा सिफारिस गर्ने संयन्त्रलाई थप प्रभावकारी बनाउन सुझाव दिएको थियो ।
परियोजनाअन्तर्गतका सफल अभ्यासको अभिलेखीकरण गरी तिनलाई निरन्तरता दिनुपर्नेमा पनि टोलीले जोड दिएको थियो । बाल संरक्षणका कार्यक्रम परियोजनाको अवधिमा मात्र सीमित नराखी दीर्घकालसम्म सञ्चालन गर्न विद्यालय र स्थानीय तहले अपनत्व लिनुपर्ने सहभागीहरूले बताए ।
संयुक्त अनुगमनले स्थानीय सरकार, विद्यालय र बाँके युनेस्को क्लबबीचको सहकार्य सुदृढ गर्नुका साथै बाल संरक्षणका कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।










Discussion about this post