बाँके, असोज ६ गते ।
नेपालगन्जमा पछिल्लो समय बाँदरको आक्रमणका घटना बढेका छन् । बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परेर सर्वसाधारण घाइते हुने गरेका छन् ।
पछिल्लो ४५ दिनमा बाँदरको आक्रमणमा परी ४० जना घाइते भएर उपचारका लागि भेरी अस्पताल पुगेका छन् । भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहेका डा. बद्री चापागाईंले अस्पतालमा उपचारका लागि आएका बिरामीको तथ्याङ्कमा बाँदरको आक्रमणबाट घाइते हुनेको संख्या बढेको बताए ।
उनका अनुसार नेपालगन्जमा बाँदरको आक्रमणबाट घाइते भएर अस्पताल आउने घटना पछिल्लो समय नयाँ देखिएको हो ।
‘कुकुर, बिरालो र सर्पको टोकाइबाट घाइते भएर अस्पताल आउने क्रम पुरानै हो,’ उनले भने, ‘तर अहिले बाँदर घरघरमै पसेर मानिसलाई टोक्ने घटना देखिनु अचम्मलाग्दो छ ।’
उनले नेपालगन्जका विभिन्न क्षेत्रमा बाँदरको बिगबिगी बढेकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरे । बाँदरले आक्रमण गरेमा सामान्य घाउ भनेर घरमै बस्नुभन्दा तत्काल अस्पताल पुगेर उपचार गराउनुपर्ने उनले बताए ।
डा. चापागाईंका अनुसार पछिल्लो ४५ दिनमा भेरी अस्पतालमा मात्रै एक हजार ३६ जना जनावरजन्य टोकाइका बिरामी उपचारका लागि आएका छन् । तीमध्ये सबैभन्दा धेरै कुकुरको टोकाइबाट घाइते भएका ८ सय ६५ जना छन् ।
यस्तै, बिरालोको टोकाइबाट १ सय १० जना, बाँदरको टोकाइबाट ४० जना र मुसाको टोकाइबाट २१ जना उपचारका लागि अस्पताल पुगेका छन् ।
सोही अवधिमा सर्पदंशका १ सय १८ जना बिरामी भेरी अस्पतालमा उपचारका लागि आएको डा. चापागाईंले बताए । कीराको टोकाइबाट घाइते भएका चार जना र टोक्ने जीवजन्तु पहिचान नभएका १९ जना बिरामी पनि उपचारका लागि अस्पताल पुगेका छन् ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले गाउँघरमा किसानलाई बाँदरले टोकेका घटना हुने गरे पनि बजार क्षेत्रमा यस्तो घटना देखिनु नयाँ भएको बताए ।
‘गाउँमा किसानलाई बाँदरले टोकेका घटना हुने गरेका छन्,’ उनले भने, ‘तर बजार क्षेत्रमा बाँदरको आक्रमणबाट घाइते भएर अस्पताल आउने घटना नयाँ हो ।’
उनले बाँदरको टोकाइबाट घाइते भएका बिरामीलाई जङ्गली जनावरको टोकाइका रूपमा लिएर रेबिजविरुद्धको खोप दिने व्यवस्था गरिएको बताए । आवश्यकताअनुसार घाइतेलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।












Discussion about this post