बाँके, असोज ३१ गते ।
नेपालीहरूको महान् पर्व दसैँ र दीपावली नजिकिएसँगै बाँकेका कुम्हार समुदायलाई माटोका दियो र भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । दीपावलीमा आधुनिक विद्युतीय बत्तीको प्रयोग बढ्दै गए पनि माटोको दियोको धार्मिक तथा सांस्कृतिक महत्त्व कायमै रहेकाले कुम्हार समुदायलाई दियो बनाउन चटारो परेको हो ।
दीपावलीमा माटोको दियो बाल्ने परम्परा रहेकाले नेपालगञ्जसहित बाँकेका विभिन्न स्थानमा रहेका कुम्हार परिवार यतिबेला दिनरात नभनी दियो बनाउन व्यस्त छन् । विशेषगरी मधेसी समुदायमा दीपावलीका बेला माटोको दियो बाल्ने चलन रहेकाले बजारमा यसको माग उच्च हुने गरेको नेपालगञ्जका सामाजिक अगुवा विष्णुलाल कुमालले बताए ।
उनका अनुसार कुम्हार समुदायका दर्जनभन्दा बढी परिवार अहिले बिहान सबेरैदेखि रातिसम्म दियो बनाउने काममा जुटेका छन् । कतिपय परिवार राति २ बजेदेखि नै उठेर माटो मुछ्ने, दियोलाई आकार दिने र बिक्रीका लागि तयार पार्ने काममा लाग्ने गरेका छन् ।
यस सिजनमा एक परिवारले एक लाखदेखि पाँच लाख वटासम्म दियो उत्पादन गर्ने लक्ष्य राखेको कुमालले जानकारी दिए । दियोको उत्पादन र बिक्रीका आधारमा प्रतिपरिवार कम्तीमा एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको छ ।
कुम्हारहरूले तयार पारेका दियो खरिद गर्न कतिपय ग्राहक तथा व्यापारी घरमै पुग्ने गरेका छन् । त्यस्तै, कतिपय कुम्हारले दियो नेपालगञ्जको त्रिभुवन चोकमा लगेर बिक्री गर्ने गरेका छन् । चाडपर्व नजिकिएसँगै दियो खरिद गर्ने ग्राहकको चहलपहल पनि बढ्न थालेको छ ।
आधुनिक विद्युतीय सामग्रीको प्रयोग बढ्दै गए पनि धार्मिक अनुष्ठान तथा पूजाआजामा माटोको दियोको प्रयोगलाई महत्त्व दिइने भएकाले यसको माग नघटेको कुमालको भनाइ छ ।
परम्परागत पेसाका रूपमा रहेको माटाका सामग्री निर्माणबाट चाडपर्वका बेला आम्दानी हुने भएपछि कुम्हार समुदायमा उत्साह थपिएको छ । पुस्तौँदेखि अपनाउँदै आएको पेसालाई निरन्तरता दिँदै आएका उनीहरूका लागि दसैँ–तिहारको समय उत्पादन र बिक्रीको महत्त्वपूर्ण अवसर बनेको छ ।










Discussion about this post