ताप्लेजुङ, कात्तिक १३ गते ।
पाकेको धान र कोदो भित्र्याउने समयमा वर्षा भएपछि ताप्लेजुङका किसान चिन्तित भएका छन्। जिल्लाका अधिकांश स्थानमा धान र कोदो पाकेर पहेँलपुर भए पनि दुई दिनदेखि भइरहेको वर्षाका कारण बाली थन्क्याउन समस्या भएको किसानले बताएका छन्।
सिरिजङ्घा गाउँपालिका–७ का किसान श्याम राईले बाली भित्र्याउने समयमा वर्षा भएपछि चिन्ता बढेको बताए। उनका अनुसार अहिलेसम्म हावाहुरी र असिना नपरे पनि मौसम थप बिग्रिए पाकेको धान ढल्ने र झर्ने जोखिम छ।
“अहिलेसम्म हावाहुरी र असिना परेको छैन। तर, हावाहुरी चल्ने वा ठूलो वर्षा हुने हो भने धान ढल्ने र झर्ने समस्या हुन सक्छ भन्ने चिन्ता छ,” उनले भने।
वर्षाका कारण किसानलाई अलैँची टिप्न र सुकाउन पनि समस्या भएको छ। यतिबेला जिल्लाका अधिकांश किसानलाई अलैँची टिप्ने र सुकाउने चटारो छ। लगातारको वर्षाले अलैँची बगानमा काम गर्न कठिन भएको किसानले बताएका छन्।
तर, अलैँची टिपिसकेका किसानलाई भने वर्षाले केही राहत दिएको छ। अलैँची टिपेपछि वर्षा हुँदा बोटमा पर्याप्त चिस्यान पुग्ने र सुक्न तथा मर्नबाट जोगिने अलैँची किसान रश्मी आचार्यले बताइन्।
बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले ताप्लेजुङको मौसम प्रतिकूल बनेको हो। दुई दिनदेखि प्रभावित मौसमका कारण जिल्लाभर वर्षा भइरहेको छ। जिल्लाका उच्च क्षेत्रमा हिमपातसमेत भएको छ।
वर्षा र हिमपातसँगै ताप्लेजुङमा चिसो बढेको स्थानीयले बताएका छन्। मौसम प्रतिकूल बनेपछि एकातिर पाकेको अन्नबाली भित्र्याउन समस्या भएको छ भने अर्कातिर अलैँची खेतीमा समेत असर परेको किसानको भनाइ छ।










Discussion about this post