काठमाडौें, कात्तिक १५ गते ।
अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपालनजिक विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा क्रमिक सुधार हुने भएको छ।
माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै रहेकाले मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ। अन्य भागमा भने आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











Discussion about this post