जाजरकोट पुस १७ गते ।
जाजरकोटका छ हजारभन्दा बढी भूकम्पपीडितले अस्थायी आवास पाएका छन् । सरकारले प्रदान गरेको अनुदान रकमबाट छ हजार ५९८ अस्थायी आवास निर्माण गरिएको हो ।
जिल्लाका सात वटै स्थानीय तहको लाभग्राहीको सूचीमा परेका ३५ हजार १४० मध्ये २० हजार ३४४ जना लाभग्राहीले अस्थायी आवासका लागि सम्झौता गरे पनि १० हजार ९६ जनाले मात्र रकम प्राप्त गरेका छन् । २५ करोड २३ लाख २५ हजार रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भूकम्प प्रभावितको अस्थायी आवासका लागि जिल्ला विपत् व्यवस्थापन कोषबाट निकासा भएको ८४ करोड ९५ लाख ७५ हजारमध्ये २५ करोड २३ लाख २५ हजार रुपियाँ लाभग्राहीको खातामा जम्मा गरिएको छ ।
अस्थायी आवास निर्माणमा स्थानीय तह थप संवेदनशील भई घरबारविहीन पीडितलाई न्यानो स्थानमा सार्न अग्रसर हुनुपर्ने अवस्था छ । चिसो मौसममा त्रिपालको सहारामा बसेका सर्वसाधारणलाई न्यानो स्थानमा सार्न सरकारले हदैसम्म प्रयास गरेको बताइन्छ । सरकारका सबै शक्ति नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, दलका नेता कार्यकर्ताले भूकम्पले भत्किएका र चर्किएका घर पन्छाउने काम गरिहेका छन् । अनुदान सहयोग पाएका लाभग्राहीले अस्थायी आवासभन्दा स्थायी आवास बनाउनु पर्छ कि भन्दै अलमलमा परेका छन् ।
उता स्थानीय तहले पहिलो किस्ता अनुदान लिएका लाभग्राहीले दोस्रो किस्ता रकम माग गर्दा बसोबास गर्न योग्य नरहेको घरको फोटो, निर्माण सम्पन्न भएको अस्थायी आवासको फोटो, अस्थायी आवास निर्माण सम्पन्न भएको प्राविधिक प्रतिवेदन, वडास्तरीय सर्वदलीय संयन्त्रको भुक्तानी गर्न गरिएको निर्णयको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, अन्तिम किस्ता रकम मागको निवेदन पेस गर्न भेरी नगरपालिकाले सूचना जारी गरेको छ ।
भेरी नगरपालिकामा छ हजार ६३४ लाभग्राहीमध्ये चार हजार ४७८ जनालाई ११ करोड १९ लाख ५० हजार पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीका अनुसार कागजात पुगेकाले पहिलो किस्ता लिइसकेका छन् । नलगाड नगरपालिकाले २३४ लाभग्राहीलाई ५८ लाख ५० हजार पहिलो किस्ताको रकम वितरण गरेको छ ।
Discussion about this post