
विष्णु अधिकारी बर्दिया, कार्तिक १४ गते । हत्या गरेको अभियोगमा बर्दिया प्रहरीले ८ जना युवा पक्राउ गरेको छ । पुरानो रिसीबीका कारण ठाकुरबाबा नगरपालिका वडा नं. ८ का ३४ बर्षिय अटोरिक्सा चालक सतिराम थारुको ज्यान मारेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा यस घटनाका मुख्य नाइके ठाकुरबाबा–७, का २७ बर्षिय सन्तोष रोकाय, ३६ वर्षिय देवी रोकाय, २० बर्षिय अर्जुन बुढा, २५ बर्षिय कमल बुढा, २४ बर्षिय शरण रोकाय, ३२ बर्षिय उमेश बुढा, २४ बर्षिय राजकुमार चौधरी र २३ बर्षिय ज्ञानु विक रहेका छन् । गत असोज १६ गते राती ९ बजे मृतक मृतकका दाजु आशाराम थारुले गाउँको बच्चालाई अटो रिक्सामा राखी उपचार गराई घर फर्कने क्रममा अटो रिक्सा नरोकेको भनी ठाकुरबाबा–७ का सन्तोष रोकाय लगाएतले अटोरिक्सा तोडफोड गर्नुका साथै आशाराम थारुलाई कुटपिट गरेका थिए ।
प्रहरी र जनप्रतिनिधिको रोहवरमा मिलापत्र गराई अटो रिक्साको क्षतीपुर्ती तिराएको रिसमा भाईटिकाको दिन आशाराम थारुका भाई मृतक सतिराम थारुलाई आफ्नो बहिनीको घरबाट फर्कने क्रममा सन्तोष रोकाय सहित ८ जनाको समुहले बाटो कुरी ढुङ्गा, लाठी, मुक्का प्रहार गरी सक्त घाइते बनाएका थिए । मृतक थारुको मेडिकल कलेजमा उपचार सम्भव नभए पछि भारतको लखनउमा उपचारको क्रममा कार्तिक १३ गते मृत्यु भएको हो । मृतकका बाबु सतिराम थारुले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतकका बाबुले दिएको जाहेरीको आधारमा ८ जनालाई जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउबाट खटिएको टोलीले कार्तिक १३ गते राती जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । निजहरुलाई ज्यान सम्बन्धि कसुर मुद्दामा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।









Discussion about this post