बाँके भदौ १४ गते ।
बाँकेमा औलोका बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १६० जनामा औलो देखिएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा त्यो सङ्ख्या बढेर २४६ पुगेको थियो । जसमध्ये नरैनापुर गाउँपालिकामा मात्रै १८५ जना बिरामी छन् । अघिल्लो आर्थिक वर्षमा नरैनापुरमा १३२ जनामा औलो देखिएको थियो ।
नरैनापुरमा उच्च सङ्ख्यामा औलो देखिएपछि रोकथाम र नियन्त्रणका लागि रगत परीक्षणलाई अभियानकै रूपमा अघि बढाइएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताए ।
उनले देशभरका ७५३ वटै पालिकामध्ये सबैभन्दा बढी औलो बिरामी भएको पालिका नरैनापुर गाउँपालिका भएको बताउँदै पालिकामा औलोविरुद्धको सचेतना प्रवर्धनसँगै झुल लगाएर सुत्न प्रेरित गर्ने कार्य पनि गरिँदै आएको बताए।
नरैनापुरमा औलो रोग नियन्त्रणका लागि सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहम्मद शाहले बताए । उनले जुन वडाहरूमा समस्या देखिएको छ ती वडाहरुमा औलो रोग नियन्त्रणका लागि आफूले पनि पूरै समय दिएका बताए ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपाल सरकारले सन् २०३० सम्म देशलाई औलो रोग (मलेरिया) मुक्त गर्ने लक्ष्य राखे पनि बाँकेमा जोखिम कायमै छ । बाँके जिल्लामा वर्षेनी बिरामी बढ्दै गएकोले औलोको उच्च जोखिम कायमै छ । जिल्लाको नरैनापुर गाउँपालिकामा देशमै सबैभन्दा धेरै औलो देखिएको पालिका बनेको छ ।
पछिल्लो समय रोजगारीका लागि भारतको मुम्बई पुगेका नरैनापुर गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीय किशोर अमजत खाँ घर फर्केपछि बिरामी भएका थिए । उच्च ज्वरो आउने, टाउको दुख्ने, जाडो लाग्ने जस्ता समस्या देखिएपछि चेकजाँच गराउँदा औलो देखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सामान्यतया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजीवीका विभिन्न जातबाट हुने गर्दछ । प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरिया, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरूवाट यो रोग लाग्ने गर्दछ । साधारणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजीवी पाइन्छ ।












Discussion about this post