बाँके चैत ११ गते ।
नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ । वातावरणमैत्री र सस्तो यातायातको विकल्पका रूपमा भित्रिएको ई–रिक्साको साधन आज सहरकै लागि टाउको दुखाइ बन्न पुगेको छ। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा रहेको नेपालगन्ज उपमहानगरपालिका ई–रिक्साको व्यवस्थापनमा गम्भीर रूपमा चुकेको आरोप स्थानीयस्तरमा चर्किंदै गएको छ।
अपर्याप्त योजना र कमजोर कार्यान्वयनका कारण ई–रिक्सा सञ्चालन पूर्ण रूपमा अव्यवस्थित बन्दै गएको छ, जसले सहरको दैनिक जीवनलाई प्रत्यक्ष असर पारिरहेको छ । सदरलाइन र त्रिवेणी मोड—यी दुई स्थान अहिले ई–रिक्साको अव्यवस्थाको प्रतीकजस्तै बनेका छन्। बिहानदेखि बेलुकासम्म लामो लाइनमा उभिएका ई–रिक्सा, जथाभावी पार्किङ, र यात्रु पर्खिने नाममा सडक नै कब्जा गर्ने प्रवृत्तिले पैदल हिड्न समेत सास्ती खेप्नु परेको छ ।
पैदलयात्रीहरू सडक पार गर्न संघर्षरत देखिन्छन् भने मोटरसाइकल र साना सवारीसाधनका चालकहरू साँघुरा ठाउँमा जोखिमपूर्ण ढंगले गुड्न बाध्य छन्। व्यापारीहरूका लागि त झन् यो अवस्था दिक्कलाग्दो बनिसकेको छ—ग्राहक पसलसम्म पुग्नै नसक्ने अवस्था सिर्जना भएको छ।
“बिहानदेखि बेलुकासम्म यही भीड हुन्छ, ग्राहक आउनै गाह्रो भयो,” एक स्थानीय व्यापारी भन्छन्, “व्यवस्थापन गर्ने कोही छैन जस्तो लाग्छ।” समस्या केवल सवारीको भीडमा सीमित छैन् यसको जरा नियमनको अभावमा गहिरो गरी गाडिएको छ । नगर प्रहरीको प्रभावकारी उपस्थिति पनि छैन । ट्राफिक व्यवस्थापनमा खटिएका नगर प्रहरी सक्रिय रूपमा काम गर्नुभन्दा मोबाइल चलाएर समय बिताउने गरेको गुनासो समेत सुनिन्छ।
जिम्मेवारी पाएको निकाय नै निष्क्रिय जस्तो देखिँदा सर्वसाधारणमा निराशा बढ्दै गएको छ। नेपालगन्जको मुख्य बजार क्षेत्र पहिलेभन्दा फरक देखिन थालेको छ। सडक किनारमा अनियन्त्रित रूपमा पार्क गरिएका ई–रिक्सा, अस्तव्यस्त भीड, र अव्यवस्थित यातायातले सहरको समग्र छविमा नकारात्मक प्रभाव पारेको छ। सफा, व्यवस्थित र आकर्षक सहरको परिकल्पना यस्ता दृश्यले धमिल्याइरहेको छ। पर्यटक वा बाहिरी पाहुनाले देख्ने पहिलो प्रभाव नै अव्यवस्था बन्न थालेको छ, जसले सहरको पहिचानमा प्रश्न उठाइरहेको छ।













Discussion about this post