बाँके चैत ११ गते ।
नेपाल–भारत सीमाको खुला संरचना वर्षौंदेखि स्थानीय बासिन्दाको दैनिकीसँग गाँसिएको छ। दैनिक उपभोग्य सामग्रीदेखि श्रम आदानप्रदानसम्म, यही सीमाले सहजता दिएको छ । तर, यही खुलापन अहिले बाँके जिल्लाका लागि बर्डफ्लुको उच्च जोखिममा परेको छ ।
छिमेकी देश भारतको उत्तरप्रदेशका विभिन्न स्थानहरूमा बर्डफ्लु देखापरेसँगै त्यसको छाया नेपालतर्फ पनि पर्न थालेको छ। सीमावर्ती जिल्लामध्ये बाँके विशेष रूपमा उच्च जोखिममा परेको छ । कारण स्पष्ट छ करिब ६५ किलोमिटर लामो खुला सीमाना र त्यसबाट हुने अनियन्त्रित आवतजावत । नरैनापुर, खडैचा, हिरमिनिया, कालाबन्जर, जमुनाह, पिप्रहवा, जयसपुर, साईगाउँ, बडैया र सैनिकजस्ता नाकाहरू स्थानीयका लागि परिचित मार्ग मात्र होइनन्, अहिले अवैध रूपमा कुखुरा तथा चल्ला भित्रिने संवेदनशील बिन्दु बनेका छन् ।
अधिकांस चल्ला तेलियनपुर बाटो भएर आउँने गरेको स्थानीय बताउँछन् ।
स्थानीय बासिन्दाका अनुसार, प्रहरीको रातको अँध्यारो वा निगरानी कमजोर भएका बेला भारतबाट पन्छीजन्य पदार्थ सहजै भित्रिने क्रम जारी छ । खासगरी भारतमा चल्ला सस्तोमा पाइने भएकाले तस्करहरुले भारतीय चल्ला नेपालमा भित्र्याएर नेपाली चल्ला भनेर विक्री गर्ने गरेका छन् । सीमासँगै जोडिएका यी गतिविधिहरूले बाँकेका पोल्ट्री व्यवसायलाई थप जोखिममा पारेका छन् । जिल्लाका अधिकांश पोल्ट्री फार्महरू सीमावर्ती क्षेत्रमा नै सञ्चालनमा रहेकाले संक्रमण फैलिने सम्भावना झन् बढेको सरोकारवालाहरू बताउँछन् ।
उनीहरूका अनुसार, अवैध रूपमा भित्रिएका चल्ला सिधै फार्मसम्म पुग्ने अवस्था छ, जसले रोग फैलावटलाई तीव्र बनाउन सक्छ । स्थानीय अगुवा तथा व्यवसायीहरू सीमामा कमजोर निगरानीप्रति असन्तुष्ट छन् । “जोखिम स्पष्ट देखिँदासमेत प्रभावकारी नियन्त्रण देखिएको छैन,” एक व्यवसायीले गुनासो गरे । उनीहरू सीमामा कडाइ गर्न, निगरानी बढाउन र अवैध आवतजावत पूर्ण रूपमा रोक्न सम्बन्धित निकायसँग माग गरिरहेका छन् ।
अझ चिन्ताजनक पक्ष के छ भने, केही पोल्ट्री फार्महरूले नै भारतबाट अवैध रूपमा चल्ला भित्र्याउन तस्करहरूको प्रयोग गर्ने गरेको आरोपसमेत उठेको छ। यदि यो सत्य हो भने, यसले रोग नियन्त्रणका प्रयासलाई थप जटिल बनाउने निश्चित छ। यद्यपि, प्रहरीले बेला–बेला अवैध रूपमा भित्रिएका कुखुरा र चल्ला बरामद गर्दै आएको छ । तर, मुख्य तस्करहरू अझै कानुनी दायरामा आउन नसकेको भन्दै प्रश्न उठ्न थालेको छ । बरामद मात्र पर्याप्त नभई जालो तोड्नुपर्ने माग स्थानीय स्तरबाट उठिरहेको छ ।
बर्डफ्लु जस्तो संक्रामक रोग फैलिन नदिन समयमै कडा कदम चाल्न आवश्यक देखिन्छ । सीमामा प्रभावकारी निगरानी, अवैध आयातमा संलग्न समूहको पहिचान र नियन्त्रण, तथा सीमावर्ती पोल्ट्री फार्महरूमा विशेष अनुगमन अहिलेको आवश्यकता हो । यदि समयमै ठोस कदम चालिएन भने, यसको असर केवल पोल्ट्री व्यवसायमा मात्र सीमित रहने छैन।
खुला सीमाको सहजता र त्यसबाट उत्पन्न जोखिमबीच सन्तुलन कायम गर्नु अहिलेको चुनौती हो। बाँकेले सामना गरिरहेको यो अवस्थाले एउटा स्पष्ट सन्देश दिन्छ—सतर्कता र समन्वय बिना खुलापन कहिलेकाहीँ खतरा पनि बन्न सक्छ।













Discussion about this post