बाँके, साउन ३ गते ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले हात्ती–मानव द्वन्द्व न्यूनीकरणमा सकारात्मक प्रभाव देखिएको छ। हात्ती बस्तीतर्फ प्रवेश गर्नासाथ साइरन बज्ने व्यवस्था भएपछि स्थानीयले समयमै जानकारी पाउने र आवश्यक सतर्कता अपनाउने गरेका छन्।
जेडएसएल नेपालले राप्तीसोनारी गाउँपालिका–९ अन्तर्गत ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा उक्त प्रणाली जडान गरेको हो। जेडएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीका अनुसार सेन्सरले हात्तीको गतिविधि पहिचान गरी साइरनमार्फत स्थानीयलाई पूर्वसूचना दिन्छ। यसले स्थानीयलाई सुरक्षित रूपमा हात्तीलाई बस्तीबाहिर फर्काउन र सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुगेको छ।
बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवका अनुसार साइरन जडान भएपछि गाउँमा हात्ती पस्नेबित्तिकै सूचना प्राप्त हुने भएकाले स्थानीयले समयमै सतर्कता अपनाउन थालेका छन्। स्थानीय राधिका सुनारले पनि पहिले हात्ती बस्तीमा पसेको थाहा नपाउँदा घर, अन्नबाली र सम्पत्तिमा ठूलो क्षति हुने गरे पनि अहिले जोखिम निकै घटेको बताइन्।
बाँके राष्ट्रिय निकुञ्जमा २५ भन्दा बढी जङ्गली हात्ती रहेको अनुमान छ। जंगलमा पर्याप्त आहारा नहुँदा हात्ती बेला–बेला बस्तीमा पस्ने गरेका छन्। यस्तो अवस्थामा पूर्वसूचनामा आधारित साइरन प्रणालीले मानव–हात्ती द्वन्द्व व्यवस्थापनमा प्रभावकारी उपायका रूपमा काम गर्न थालेको स्थानीयको भनाइ छ।












Discussion about this post