बाँके, साउन ५ गते ।
बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। निर्माण कम्पनीको ढिलाइका कारण करिब छ वर्षदेखि अलपत्र रहेको भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाले आंशिक रूपमा सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालन सुरु भएसँगै कर्मचारीको कामकाज र सेवाग्राहीलाई सेवा लिन सहज भएको बताए। उनका अनुसार सेवा प्रवाह सुधार, डिजिटल प्रशासन र नागरिकमैत्री सेवा विस्तारमा भवनले सहयोग पुग्नेछ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले एउटै छानामुनिबाट नागरिकलाई सेवा दिने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताए। उनले नयाँ भवनबाट सेवा प्रवाह थप व्यवस्थित, छिटो र पारदर्शी हुने दाबी गरे।
गाउँपालिकाका अनुसार भवनमा प्रशासनिक कार्यालय, बैठक कक्ष, अभिलेख व्यवस्थापन कक्ष र सेवा केन्द्र रहेका छन्। सामाजिक सुरक्षा, प्रशासनिक सेवा, योजना सिफारिसलगायत सेवा यही भवनबाट प्रवाह गरिने जनाइएको छ।
वडा नम्बर ६ का अध्यक्ष जगदीशप्रसाद हरिजनले भवन सञ्चालनसँगै स्थानीय सरकारप्रतिको नागरिकको विश्वास बढ्ने बताए। स्थानीयवासी मोहम्मद अहमद राईले विगतमा भवन अभावका कारण विभिन्न स्थानमा धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब अधिकांश सेवा एउटै भवनबाट उपलब्ध हुने बताए।
वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीका अनुसार तीनतले भवन चार करोड २२ लाख ८४ हजार ७१० रुपैयाँको लागतमा थेगिम–श्रीकृष्ण–निशान जेभी, कोहलपुरले निर्माण गरेको हो।
विसं २०७९ भित्र सम्पन्न हुनुपर्ने भवन विभिन्न कारणले ढिलाइ भएको थियो। केही काम अझै बाँकी रहेकाले भवन हाल आंशिक रूपमा सञ्चालनमा आएको र पूर्ण रूपमा सञ्चालनमा आउन करिब दुई महिना लाग्ने गाउँपालिकाले जनाएको छ।













Discussion about this post