बाँके, भदौ ३१ गते ।
बाँके प्रहरीले ४० ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित नेपालगन्जका एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–३ का ३४ वर्षीय मोहम्मद रहिम अन्सारीलाई लागूऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय नेपालगन्ज, इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार अन्सारीको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा अन्सारी सुत्ने कोठाको दराजमा लुकाएर राखेको अवस्थामा ४० ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए।
प्रहरीले अन्सारीको घरबाट नेपाली रुपैयाँ ९९ हजार र भारतीय रुपैयाँ १ लाख ४६ हजार पनि बरामद गरेको जनाएको छ। त्यस्तै, विभिन्न कम्पनीका तीन थान किप्याड मोबाइल, नेपाल टेलिकमका तीन थान र एनसेलका नौ थान सिमकार्ड, एनसेलका सिमकार्डका ५० थान खोल र एक थान डिजिटल तराजु बरामद गरिएको राठौरले बताए।
त्यसैगरी भे ३ प ५३५१ नम्बरको पल्सर १५० मोटरसाइकलको सवारी दर्ता किताबसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अन्सारीमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।











Discussion about this post