बाँके, असोज ३ गते ।
नेपालगन्जमा पहिलोपटक आयोजना गरिएको मेयर कप राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप–२०८३ शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फ संगम विष्ट र महिलातर्फ कुस्मा केसी ओभरअल च्याम्पियन बनेका छन्।
पावरलिफ्टिङ संघ बाँकेको आयोजनामा राष्ट्रिय पावरलिफ्टिङ महासंघको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । बीपी चोकस्थित लीला प्यालेसमा दुई दिन चलेको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको पुरुष जुनियर ओभरअलतर्फ संगम विष्ट प्रथम, करण बुढामगर द्वितीय र गोपाल चौधरी तृतीय भए। मास्टर–१ पुरुष ओभरअलतर्फ ज्ञानेन्द्रराज पाण्डे प्रथम, डा. जितेन्द्र कुमार द्वितीय र इशाक मियाँ तृतीय भए।
मास्टर–२ पुरुष ओभरअलतर्फ बलकृष्ण तेन्दुलकर प्रथम, सिफ अहमद सिद्दिकी द्वितीय र अकिल अहमद सिद्दिकी तृतीय भए। पुरुष ओभरअलतर्फ संगम विष्ट प्रथम, बलबहादुर सुनार द्वितीय र निखिल तामाङ तृतीय भए।
महिला ओभरअलतर्फ कुस्मा केसी विजेता बनिन्। जुनियर महिला ओभरअलमा कुस्मा केसी प्रथम, प्रिजा आरसी द्वितीय र प्रतिष्ठा भट्ट तृतीय भए। मास्टर महिला ओभरअलमा सन्ध्या श्रेष्ठ प्रथम, इन्दु मल्ल द्वितीय र रञ्जु थापा मगर तृतीय भए।
महिलाको खुला विधातर्फ ५२ केजीमुनि प्रेमकुमारी आचार्य प्रथम र प्रिजा आरसी द्वितीय भए। ५६ केजीमुनि बिनिता बुढा प्रथम, अनुपा नेपाली द्वितीय र शान्ति बुढामगर तृतीय भए। ६० केजीमुनि कुस्मा केसी प्रथम, कुमारी ज्ञानु थापा द्वितीय र प्रकृति श्रेष्ठ तृतीय भए।
६७.५ केजीमुनि प्रमिशा भट्ट प्रथम, रेखा पुन मगर द्वितीय र रविना कुँवर तृतीय भए। ७५ केजीमुनि तुलमाया तामाङ प्रथम, रोशनी चौधरी द्वितीय र रितुकुमारी आले तृतीय भए। ७५ केजीमाथि कोपिला कुँवर प्रथम, सन्ध्या श्रेष्ठ द्वितीय र सञ्जिका महर्जन तृतीय भए।
पुरुष खुला विधातर्फ ६० केजीमुनि संगम विष्ट प्रथम, गोपाल चौधरी द्वितीय र विनोद खाती तृतीय भए। ७५ केजीमुनि निखिल तामाङ प्रथम, सुरेश थापा द्वितीय र रुदन चौधरी तृतीय भए।
८२.५ केजीमुनि ज्ञानेन्द्रराज पाण्डे प्रथम, विकल शाक्य द्वितीय र राजेश बम तृतीय भए। ९० केजीमुनि युवराज वर्मा प्रथम, माजिद आलम कुरेसी द्वितीय र प्रेमबहादुर तामाङ तृतीय भए। ९० केजीमाथि शिवराज वर्मा प्रथम, प्रेमबहादुर तामाङ द्वितीय र इरशाद आलम कुरेसी तृतीय भए।
खुला ९० केजीमाथिको विधामा अर्जुन श्रेष्ठ प्रथम, पंकज आले द्वितीय र युधिष्ठिरसिंह गिमिरे तृतीय भए। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। ‘च्याम्पियन अफ च्याम्पियन्स’ उपाधि संगम विष्टले हात पारे।
पावरलिफ्टिङ संघ बाँकेका अध्यक्ष डा. प्रतीक श्रेष्ठले नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु स्थानीय पावरलिफ्टिङ खेलका लागि महत्वपूर्ण भएको बताए।
‘नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न पाउँदा हामी उत्साहित छौँ,’ उनले भने, ‘प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, निर्णायक, प्रायोजक, आयोजक टिम, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दछौँ।’ आगामी दिनमा पनि बाँकेमा पावरलिफ्टिङ खेलको विकासका लागि निरन्तर काम गर्ने श्रेष्ठले बताए।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा निर्णायकले नेपालगन्जमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु स्थानीय खेलाडीका लागि उत्साहको विषय भएको बताए। प्रतियोगिताले जिल्लामा पावरलिफ्टिङको विकाससँगै नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
पुरुष र महिला ओभरअल च्याम्पियन बनेका खेलाडीलाई जनही एक लाख रुपैयाँ ग्रान्ड प्राइज प्रदान गरिएको थियो। विभिन्न विधा तथा तौल समूहमा प्रथम हुने खेलाडीले १० हजार, द्वितीयले पाँच हजार र तृतीयले तीन हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए।
आयोजकका अनुसार खेलाडीको सहभागिता र प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारको व्यवस्था गरिएको हो। विभिन्न तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पदक तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो।










Discussion about this post