बाँके, असोज ४ गते ।
नेपालगन्जमा ३५ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगरसहित दुई भाइ पक्राउ परेका छन्।
नेपालगन्ज उपमहानगरपालिका–३, एकलैनीमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपालगन्ज–३ निवासी ३० वर्षीय मोहम्मद हसिब अन्सारी र उनका २३ वर्षीय भाइ समिर अहमद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतित सिंह राठौरले बताए।
प्रहरीले उनीहरूको घरमा खानतलासी गर्दा कोठाको दराज तथा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको थियो। बरामद पदार्थको शुद्ध तौल ३५ ग्राम ९ सय मिलिग्राम रहेको राठौरले बताए।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका पाँच थान मोबाइल, एक थान डिजिटल तराजु र ७३ हजार ७ सय रुपैयाँ नगदसमेत बरामद गरेको छ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









Discussion about this post