बाँके, असोज ४ गते ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण बन्द रहेका अत्याधुनिक लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकीथेरापी मेसिन पुनः सञ्चालनमा आएका छन् ।
गत वैशाख १५–१६ गतेदेखि बन्द रहेका दुवै मेसिन सञ्चालनमा आएसँगै अस्पतालको रेडियोथेरापी सेवा नियमित भएको अस्पतालले जनाएको छ । असोज ५ गतेदेखि बिरामीले नियमित रूपमा अस्पतालबाटै रेडियोथेरापी सेवा लिन सक्ने अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताले बताए ।
उनका अनुसार मेसिनमा प्राविधिक समस्या आएपछि केही समय रेडियोथेरापी सेवा प्रभावित हुँदा बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था आएको थियो ।
‘क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि हो,’ उनले भने, ‘दुवै अत्याधुनिक उपकरण सञ्चालनमा आएपछि पश्चिम नेपालका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुनेछ।’
लिन्याकमार्फत क्यान्सर प्रभावित भागमा आवश्यक मात्रामा विकिरण पु¥याएर उपचार गरिन्छ भने ब्रेकीथेरापीमा उपचार आवश्यक पर्ने स्थानको नजिकै विकिरण स्रोत राखेर उपचार गरिन्छ ।
अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित आसपासका क्षेत्रका बिरामीलाई लक्षित गरी क्यान्सर उपचार सेवा विस्तार गर्दै आएको जनाएको छ । अस्पतालमा रेडियोथेरापीसँगै किमोथेरापी, क्यान्सर शल्यक्रिया, सिटी स्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे, आईसीयू, इमर्जेन्सी, प्रयोगशाला, फार्मेसी र एम्बुलेन्सलगायत सेवा उपलब्ध छन् ।
सरकारी क्षेत्रबाट पश्चिम नेपालमा सञ्चालित प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा विकास भइरहेको अस्पतालले २०७४ असार ११ गतेदेखि ओपीडी सेवा र २०७७ मंसिर ५ गतेदेखि आफ्नै अपरेसन थिएटरबाट शल्यक्रिया सेवा सुरु गरेको हो ।
अत्याधुनिक रेडियोथेरापी उपकरण पुनः सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि आउने बिरामीलाई थप सहज हुने डा. गुप्ताले बताए ।










Discussion about this post