काठमाडौं, असोज १६ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई रिसाउने बानी त्यागेर जनताको सेवामा लाग्न निर्देशन दिएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रिसाउने बानी भए घरको खोपामा राख्न आग्रह गरेका हुन् ।
‘मेरो त रिसाउने बानी छ भनेर नेता भएपछि पाइँदैन । रिसाउने बानी घरको खोपामा राख्नुस्,’ ओलीले भने ।
उनले पार्टीका नेताहरूको आचरण पवित्र र व्यवहार अनुकरणीय हुनुपर्ने बताए । नेताहरूले गलत बानी र आचरण त्यागेर आदर्श व्यक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने उनको भनाइ थियो ।
‘हामी आदर्श व्यक्तिका रूपमा स्थापित हुनुपर्छ । गलत आनीबानी, आचरण लिँदै नलिनुस्,’ ओलीले भने, ‘नेकपा एमालेको आचरण पवित्र र शुद्ध हुनुपर्छ । बानी राम्रो हुनुपर्छ र नमुनायोग्य हुनुपर्छ ।’
ओलीले पार्टीबाट जिम्मेवारी पाएका नेताहरूले त्यसलाई पूरा गर्न आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्नुपर्ने बताए । उनले मनोनीत केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने विश्वास व्यक्त गरे ।
‘पार्टीले तोकेको जिम्मेवारीमा जानुहुनेछ र जिम्मेवारी पूरा गर्न सम्पूर्ण सामथ्र्य प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
पार्टीले कहिलेकाहीँ धक्का बेहोर्नुपर्ने भए पनि त्यसबाट उठेर अघि बढ्न सकिने ओलीले बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासनमा रहेर जनताको सेवामा केन्द्रित हुन आग्रह गरे ।
३३ केन्द्रीय सदस्यले लिए शपथ
कार्यक्रममा अध्यक्ष ओलीले असोजको पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकबाट मनोनीत ३३ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
शपथ लिनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला र शान्तिलाल महत छन् ।
त्यसैगरी विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विष्टले पनि शपथ लिएका छन् ।











Discussion about this post