बाँके, कात्तिक २३ गते ।
देशका विभिन्न स्थानीय तहले प्लास्टिकका फूलमाला बिक्री वितरणमा प्रतिबन्ध लगाए पनि नेपालगन्जमा भने यसको खुलेआम बिक्री भइरहेको छ। तिहारलाई लक्षित गरी बजारका अधिकांश पसलमा कृत्रिम फूलमाला बिक्रीका लागि राखिएका छन्। तर, नेपालगन्ज उपमहानगरपालिकाले यसको नियन्त्रणमा चासो देखाएको छैन।
भारतीय फूलको आयात घटाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बाँकेका विभिन्न स्थानमा व्यावसायिक रूपमा सयपत्री फूलखेती गरिएको छ। यस वर्ष जिल्लामा सयपत्री फूलको उत्पादनसमेत उल्लेख्य रहेको छ। तर, भारतबाट आयात गरिएका प्लास्टिकका फूलमालाको बिक्री भने रोकिएको छैन।
भारतीय सीमासँग जोडिएको नेपालगन्जका विभिन्न बजारमा अहिले प्लास्टिकका माला छ्यापछ्याप्ती बिक्री भइरहेका छन्। सदरलाइनमा लागेको दीपावली मेलाका अधिकांश पसलमा प्लास्टिकका माला बिक्रीका लागि राखिएका छन्। बिस्कोरियन टोलका पसलमा भने थोकमै ठूलो परिमाणमा कृत्रिम फूलमालाको कारोबार भइरहेको छ।
प्लास्टिकका माला हेर्दा आकर्षक देखिए पनि यसको प्रयोगले स्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्न सक्ने नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्लेले बताए।
उनले यस वर्ष बाँकेमा सयपत्री फूलको उत्पादन पर्याप्त भएकाले स्वदेशी फूलमालाले नै बजारको माग धान्न सक्ने बताए। उनले सर्वसाधारणलाई प्लास्टिकका माला प्रयोग नगरी स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे।
स्वदेशी फूल उत्पादनमा लागेका व्यवसायी सुभाषसँग शाहले यस वर्ष भारतीय फूलको आयात घटे पनि प्लास्टिकका माला भित्रिने क्रम नरोकिएको बताए। प्लास्टिकका मालाको बिक्रीले स्थानीय किसानले उत्पादन गरेको सयपत्री फूलको बजारसमेत प्रभावित भएको उनले बताए।
भारतबाट आयात हुने फूलको तुलनामा प्लास्टिकका माला पनि स्वास्थ्य र वातावरणका दृष्टिले हानिकारक हुने भएकाले यसको प्रयोग नगर्न स्थानीय फूल व्यवसायीले आग्रह गरेका छन्।
कोहलपुर नगरपालिका–१३ का फूल व्यवसायी जय बस्नेतले प्लास्टिकका माला आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्ने बताए। स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउनुपर्ने भन्दै उनले कृत्रिम मालाको बिक्री नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
यस वर्ष स्थानीय स्तरमै फूल उत्पादन बढेको अवस्थामा प्लास्टिकका मालाको खुलेआम बिक्रीले स्वदेशी फूलखेतीलाई प्रोत्साहन गर्ने प्रयासमा चुनौती थपेको छ। बजारमा प्रतिबन्धबिनै बिक्री भइरहेको प्लास्टिकका मालाको नियन्त्रण र नियमनमा उपमहानगरपालिकाको भूमिका भने प्रश्नमा परेको छ।











Discussion about this post