बाँके, कात्तिक २३ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणलाई यातायात सुविधा दिने उद्देश्यले खरिद गरेका करोडौँ मूल्यका सात वटा नगर बस प्रयोगविहीन बनेका छन् । सञ्चालनमा ल्याउन नसक्दा तीन वर्षदेखि बसपार्कमा थन्किएका बस अहिले जीर्ण बन्दै गएका छन् ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा तीन करोड ५८ लाख ११ हजार ४१५ रुपैयाँ खर्च गरेर सात वटा बस खरिद गरेको थियो । तीमध्ये चार वटा ४१ सिटे र तीन वटा ३६ सिटे बस थिए । केही समय सञ्चालन गरिए पनि नियमित व्यवस्थापन गर्न नसक्दा बस थन्क्याउनुपर्ने अवस्था आएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले उद्देश्यअनुसार सञ्चालन गर्न नसक्दा नगर बस लामो समयदेखि बसपार्कमा थन्किएको बताए ।
उनका अनुसार विशेष अनुदानको रकमबाट खरिद गरिएका बस सुरुमा उपमहानगरपालिकाले आफैँ सञ्चालन गरेको थियो । महिला सहचालक राखेर सेवा सुरु गरिए पनि सञ्चालन खर्च धान्न नसक्ने देखिएपछि बस र बसपार्क सञ्चालनका लागि ठेक्का आह्वान गरिएको थियो ।
सात वटा बसको वार्षिक ५० लाख रुपैयाँ र बसपार्कको पार्किङ शुल्क ५१ लाख रुपैयाँ न्यूनतम मूल्य कायम गरी ठेक्का आह्वान गरिएको थियो । ठेक्का प्रक्रियामा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक एक करोड ३७ लाख ५१ हजार रुपैयाँमा ठेक्का स्वीकार गरेको थियो ।
तर, बस सञ्चालन गर्दा घाटा भएको जनाउँदै ठेकेदार कम्पनीले तीन वर्षअघि नै नगर बस बसपार्कमा थन्क्याएको प्रवक्ता रिजालले बताए ।
बस पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गर्न उपमहानगरपालिकाको कार्यपालिका बैठकले वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुनको संयोजकत्वमा समिति गठन गरेको थियो । तर, समितिको म्याद सकिए पनि हालसम्म प्रतिवेदन बुझाइएको छैन ।
समितिका संयोजक पुनले पारिवारिक स्वास्थ्य समस्याका कारण भारतमा उपचारका लागि जानुपरेकाले समयमा प्रतिवेदन बुझाउन नसकिएको बताए । समितिको म्याद सकिएपछि थप नभएकाले काम अघि बढाउन नसकिएको उनको भनाइ छ ।
पुनले लामो समयदेखि थन्किएका बस सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा नरहेको बताए ।
“लामो समयदेखि थन्क्याएर राखिएका बस अब सञ्चालन गर्ने अवस्थामा ल्याउन लाखौँ रुपैयाँ खर्च हुने देखिएको छ,” उनले भने, “नगरवासीलाई सुविधा दिने भनिएका नगर बसको सेवाभन्दा बढी प्रचारबाजी गरियो । बस सञ्चालनका लागि छुट्टै व्यवस्थापन आवश्यक छ ।”
लक्षित वर्गका लागि प्राप्त अनुदानबाट खरिद गरिएका बस सञ्चालन हुन नसकेपछि सार्वजनिक रकमको उपयोगितामाथि पनि प्रश्न उठेको छ । नगरवासीले करोडौँ खर्च गरेर खरिद गरिएका बस प्रयोगविहीन हुनु दुःखद भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्न नागरिकका लागि आएको बजेटबाट खरिद गरिएका बस थन्क्याएर राख्नु सहरकै प्रतिष्ठासँग जोडिएको विषय भएको बताए ।
“ठूलो धनराशि खर्च गरेर किनेका बस अहिले सञ्चालन गर्न सकिएन भनेर उम्कन मिल्दैन,” उनले भने, “विपन्न नागरिकका नाममा आएको बजेटबाट खरिद गरिएका बस नगरवासीलाई सेवा दिन भए पनि सञ्चालन गर्नुपर्छ ।”
सार्वजनिक सम्पत्तिका रूपमा रहेका करोडौँ मूल्यका बस संरक्षण र सञ्चालनमा उपमहानगरपालिकाले चासो नदेखाउनु सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको श्रेष्ठले बताए ।










Discussion about this post