बाँके, कात्तिक २५ गते ।
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर भाइटीका पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको मुख्य पर्व हो।
दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै निधारमा टीका लगाइदिने, मखमली, सयपत्री र गोदावरी फूलका माला पहिर्याउने तथा मिठामिठा परिकार खुवाउने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि आज बिहान ११ः०७ बजेको समय उत्तम साइत रहेको छ। समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईले दिनभर टीका लगाउन कुनै बाधा नरहेको बताउनुभयो। तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। धार्मिक मान्यताअनुसार भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने चलन छ।
भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यस दिन दिदीबहिनीले यमराज, यमुना र अष्टचिरञ्जीवीको पूजा गरी दाजुभाइको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास छ।
दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ। वर्षमा एक दिन भाइटीकाका अवसरमा मात्रै खुल्ने मन्दिरमा पुगेर भक्तजनले पूजा, दर्शन तथा टीका लगाउने गर्छन्। जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि टीका लगाउने परम्परा छ।
यसैगरी, नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। कुल परम्पराअनुसार कतिपयले भाइटीकाकै दिन र कतिपयले अघिल्लो दिन किजापूजा गर्ने चलन रहेको छ।










Discussion about this post