बाँके, कात्तिक २६ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले करिब १० करोड रुपैयाँ खर्चेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न खोजेको कान्ति ताल अहिले संरक्षण र रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ। उपमहानगरपालिकाले महत्वाकाङ्क्षी योजना अघि सारेको सात वर्ष बितिसक्दा पनि तालको अवस्था सुधारिनुको सट्टा झन् बिग्रिएको छ।
नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालका आकर्षक संरचना भत्किएका छन्। सौन्दर्य अभिवृद्धिका लागि निर्माण गरिएका रेलिङ भत्किएका छन् भने ताल क्षेत्र झाडी र बुट्यानले ढाकिएको छ। करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका संरचनाको संरक्षणमा उपमहानगरपालिकाले चासो नदिँदा तालले आफ्नो मौलिक स्वरूप गुमाउँदै गएको स्थानीयको गुनासो छ।
स्थानीय पूर्वाधार विकास र तालको सौन्दर्य अभिवृद्धिका नाममा उपमहानगरपालिकाले यहाँ करिब १० करोड रुपैयाँ खर्च गरिसकेको छ। तर, यति ठूलो रकम खर्चिएर निर्माण गरिएका संरचनाको सामान्य मर्मतसम्भार र नियमित रेखदेखसमेत हुन सकेको छैन।
नेपालगन्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाले उपमहानगरपालिकाको बेवास्ताका कारण कान्ति तालको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको बताए। उनका अनुसार ताल संरक्षणका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन।
‘ताल क्षेत्र झाडीले भरिएको छ। करोडौँ खर्चेर बनाइएका रेलिङ भत्किएका छन्। संरक्षण गर्ने निकायको ध्यान पुगेको छैन,’ उनले भने, ‘उपमहानगरपालिकाले योजना बनायो, बजेट खर्च ग¥यो तर त्यसको रेखदेख गर्ने जिम्मेवारी पूरा गरेन।’
थापाका अनुसार कान्ति ताल पर्यटकीय पूर्वाधार मात्र नभई जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो। ताल विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थानसमेत हो। तर, संरक्षणको अभावमा तालको प्राकृतिक स्वरूप र जैविक विविधता दुवै जोखिममा पर्दै गएका छन्।
पर्यावरण तथा चरा संरक्षणमा क्रियाशील अभियन्ताहरूले समेत तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउन आवाज उठाउँदै आएका छन्। तर, सम्बन्धित निकायले चासो नदिँदा संरक्षणको काम अघि बढ्न सकेको छैन।
झाडीले ढाकिएको ताल क्षेत्र साँझ परेपछि झन् असुरक्षित बन्ने गरेको स्थानीयको भनाइ छ। अहिले ताल लागुऔषध प्रयोगकर्ताहरूको जमघटस्थल बनेको र त्यहाँ हुने शङ्कास्पद गतिविधिले आसपासका बासिन्दा त्रसित हुने गरेको थापाले बताए।
ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौतामा ठेक्का लिएका फनबहादुर गुरुङले पनि ताल परिसरका संरचना तोडफोड भएको बताए। उनका अनुसार रेलिङ तथा अन्य पूर्वाधार लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने देखिएको छ।
यता, नेपालगन्ज उपमहानगरपालिकाले भने विगतका योजना प्रभावकारी हुन नसकेको स्वीकार गरेको छ। उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित नतिजा दिन नसकेको बताए।
‘विगतमा बनाइएका योजनाहरूले अपेक्षाकृत नतिजा दिन सकेनन्,’ उनले भने, ‘अब सरोकारवाला निकायका प्रतिनिधिसँग गहन छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी नयाँ योजना बनाउने तयारीमा छौँ।’
तर, नयाँ योजना बनाउने उपमहानगरपालिकाको भनाइसँगै पुराना संरचनाको संरक्षण र खर्च भएको रकमको प्रतिफलमाथि पनि प्रश्न उठेको छ। सात वर्षअघि सुरु गरिएको योजना अलपत्र पर्दा करोडौँको लगानी खेर जाने जोखिम बढेको छ।
कुनै समय नेपालगन्जको पर्यटन र आर्थिक समृद्धिको आधार बन्ने अपेक्षा गरिएको कान्ति ताललाई तत्काल संरक्षण गर्नुपर्ने नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार तालको उचित व्यवस्थापन गर्न सके यसले पर्यटकीय गतिविधि बढाउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पु¥याउन सक्छ।










Discussion about this post