बाँके, मंसिर २ गते ।
नेपालगन्ज–दिल्ली सिधा हवाई उडान, नेपालगन्जसम्म रेलमार्गको पहुँच विस्तार र एकीकृत भन्सार जाँच चौकी (आइसिपी) लाई सुक्खा बन्दरगाहका रूपमा विकास गर्न माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका क्रममा यी विषयलाई प्राथमिकताका साथ उठाउन माग गर्दै सङ्घले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत मङ्गलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
सङ्घले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार ज्ञापनपत्र बुझाइएको सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बताए । उनले नेपालगन्जको व्यापार, पर्यटन र सेवा क्षेत्रको विस्तारका लागि दिल्लीसँग सिधा हवाई सम्पर्क आवश्यक रहेको बताए ।
‘नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन हुन सके बाँकेसँगै बर्दिया, कर्णाली र सुदूरपश्चिमका नागरिक तथा व्यवसायीलाई समेत लाभ पुग्नेछ,’ उनले भने, ‘यसलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा बनाउन आवश्यक छ ।’
सङ्घले नेपालगन्जसम्म रेलमार्गको पहुँच विस्तार र नेपालगन्जस्थित आइसिपीलाई सुक्खा बन्दरगाहका रूपमा विकास गर्न पनि माग गरेको छ । यी पूर्वाधार निर्माण भए सीमापार व्यापार सहज हुनुका साथै आयात–निर्यातमा लाग्ने लागत घट्ने र नेपालगन्ज नाकाको व्यापारिक सम्भावना विस्तार हुने व्यवसायीको भनाइ छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले नेपालगन्जको विकाससँग जोडिएका यी विषय आफूले पनि मन्त्री तथा सरकारका उच्च अधिकारीसमक्ष उठाउँदै आएको बताए । उनले नेपालगन्जको आर्थिक विकास र समृद्धिका लागि दिल्लीसम्मको सिधा हवाई उडान र सुक्खा बन्दरगाह निर्माण महत्वपूर्ण रहेको बताए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल मन्सुरी सहभागी थिए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधांशु कोइराला, एमाले नेता मीनबहादुर मल्ल, नेकपाका जिल्ला संयोजक दीपक जिएम, इन्सेकका प्रदेश प्रमुख भोला महत, रास्वपाका नगर सभापति नवीन खड्का, वरिष्ठ उद्योगी प्रदीप छाछेड, डा. सुरेशकुमार कनोडियालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सङ्घका पदाधिकारीको उपस्थिति थियो ।
यसअघि सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा पनि नेपालगन्जस्थित आइसिपीलाई सुक्खा बन्दरगाहका रूपमा विकास गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । सहभागीले नेपालगन्ज नाकाबाट हुने व्यापारलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन भन्सारसम्बन्धी सेवा सुविधा स्तरोन्नति तथा आवश्यक पूर्वाधार विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।










Discussion about this post