बाँके, मंसिर २ गते ।
नेपाल–भारतसँग जोडिएको करिब ६५ किलोमिटर खुला सीमा क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार, चोरीपैठारी, मानव बेचबिखन तथा अवैध हातहतियार ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय र सहकार्य बढाएको छ।
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीले मंगलबार बाँकेका सीमावर्ती क्षेत्रका जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरेको हो।
नेपालगन्ज उपमहानगरपालिका–१४ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सीमासँग जोडिएका स्थानीय तहका १४ वडाका अध्यक्ष सहभागी थिए।
‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा सीमा क्षेत्रमा देखिएका समस्या, सुरक्षा चुनौती र आपराधिक गतिविधि नियन्त्रणका उपायबारे छलफल भएको बाहिनी मुख्यालयले जनाएको छ।
बाहिनी मुख्यालयका अनुसार सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार, चोरीपैठारी, मानव बेचबिखन, अवैध हातहतियार ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल गरिएको थियो। सीमा क्षेत्रमा हुन सक्ने गैरकानुनी गतिविधि समयमै पहिचान गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबीच सूचना आदानप्रदान तथा समन्वयलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले सीमा सुरक्षामा कुनै कमजोरी हुन नदिन मातहतका युनिटलाई निर्देशन दिए। सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई सक्रिय बनाउनुपर्ने र सीमावासी तथा जनप्रतिनिधिसँग निरन्तर समन्वय गर्नुपर्ने उनले बताए।
सीमा सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भए पनि त्यसलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि र सीमावासीको सहयोग उत्तिकै महत्त्वपूर्ण हुने अधिकारीले बताए।
अन्तरक्रियामा सीमा निगरानी तथा सहजीकरण, सीमावर्ती क्षेत्रमा धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने, सीमावासीले सशस्त्र प्रहरीसँग राखेका अपेक्षा सम्बोधन गर्ने तथा स्थानीय तहसँग नियमित समन्वय गर्ने विषयमा पनि छलफल भएको बाहिनी मुख्यालयले जनाएको छ।
कार्यक्रममा बाहिनीपति अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्द, नं. ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्याम रावत, सीमावर्ती क्षेत्रका १४ वडाका अध्यक्ष तथा जिल्लास्थित सशस्त्र प्रहरीका सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुखहरूको सहभागिता थियो।










Discussion about this post