बाँके, मंसिर २ गते ।
बाँकेको कुसुम क्षेत्र र दाङको राप्तीपारिका बासिन्दाले दशकौंदेखि भोग्दै आएको यातायात समस्या समाधान हुने भएको छ । बाँके र दाङको सीमावर्ती क्षेत्र जोड्ने ५८ किलोमिटर हुलाकी सडक निर्माण प्रक्रिया अघि बढाइएको छ ।
हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका अनुसार सडक र पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको हो । सडक तथा पुल निर्माणमा पाँच अर्ब ६० करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अघि बढेपछि सडक सञ्जालको सहज पहुँचबाट वञ्चित स्थानीयमा आशा पलाएको छ ।
आयोजना प्रमुख लिलाबहादुर भण्डारीका अनुसार सडकलाई दुई खण्डमा विभाजन गरेर निर्माणको जिम्मा दुईवटा कम्पनीलाई दिइएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि दाङको सीमावर्ती क्षेत्र हाटबाससम्मको ३६ किलोमिटर सडक निर्माणको जिम्मा कन्काइ खड्का जेभीले पाएको छ । भ्याट र पीएससहित दुई अर्ब दुई करोड रुपैयाँमा उक्त कम्पनीसँग ठेक्का सम्झौता भएको भण्डारीले बताए ।
त्यस्तै, हाटबासदेखि दाङको राजपुर गाउँपालिकास्थित गंगदीसम्मको २२ किलोमिटर सडक निर्माणको जिम्मा हिम सगरमाथा पशुपति जेभीले पाएको छ । उक्त कम्पनीले एक अर्ब ५१ करोड रुपैयाँमा ठेक्का पाएको उनले जानकारी दिए ।
सडकसँगै निर्माण हुने १६ वटा पुलको ठेक्का पनि सम्झौता भइसकेको छ । १२ वटा पुल निर्माणको जिम्मा नारायणम निर्माण सेवाले एक अर्ब तीन करोड रुपैयाँमा पाएको छ । बाँकी चारवटा पुल निर्माणका लागि भैरव कन्स्ट्रक्सन कम्पनीसँग ४६ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको भण्डारीले बताए ।
पुल निर्माणको जिम्मा पाएका कम्पनीले प्रारम्भिक काम सुरु गरिसकेका छन् । अहिले निर्माणस्थलमा सर्भे र माटो परीक्षणको काम भइरहेको उनले बताए ।
हुलाकी सडक निर्देशनालयको गुरुयोजनाअनुसार सडक दुई लेनको अस्फाल्ट प्रविधिमा निर्माण हुनेछ । सडकसँगै आवश्यक स्थानमा नाला, कल्भर्ट र पर्खालसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।
आगामी तीन वर्षभित्र बर्दियाको सतिघाट पुलदेखि दाङको कालाकाँटेसम्म हुलाकी सडकको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको भण्डारीले बताए ।
राष्ट्रिय सडक सञ्जालको सहज पहुँच नहुँदा बाँकेको कुसुम र दाङको राप्तीपारिका बासिन्दाले वर्षौंदेखि यातायातको समस्या भोग्दै आएका छन् । पक्की सडक र पुल नहुँदा स्थानीयवासी राप्ती नदी वारपार गर्न डुङ्गा तथा झोलुङ्गे पुलमा निर्भर छन् । महेन्द्र राजमार्गसम्म पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ ।
सडक निर्माण सम्पन्न भएपछि बाँके र दाङको सीमावर्ती क्षेत्रका बासिन्दालाई आवागमन सहज हुनुका साथै राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिने अपेक्षा गरिएको छ ।










Discussion about this post