बाँके, मंसिर ३ गते ।
वर्षौंदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा रहेका बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरका १० परिवारले अन्ततः लालपुर्जा पाएका छन् । भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई बुधबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
जग्गाको कानुनी स्वामित्व नहुँदा विभिन्न समस्या भोग्दै आएका परिवारले पुर्जा पाएसँगै आफ्नो नाममा जग्गा भएको प्रमाण प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा उनीहरूलाई पुर्जा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष दिलकुमार तामाङले जिल्लाका आठवटै स्थानीय तहमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।
उनले भूमिसम्बन्धी समस्या समाधान गर्ने क्रममा वास्तविक भूमिहीन परिवारलाई प्राथमिकता दिएर जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढाइएको बताए । जिल्लामा लामो समयदेखि जग्गाको स्वामित्वको पर्खाइमा रहेका परिवारलाई क्रमशः पुर्जा उपलब्ध गराउने काम भइरहेको उनको भनाइ थियो ।
बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीले वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेर काम अघि बढाएको बताए । सरकारले आफ्नो कार्यकालभित्र सबै भूमिहीन तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने योजना बनाएको उनले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउन स्थानीय सरकारले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्दै आएको बताए ।
वडाध्यक्ष मीनराज खड्काका अनुसार पुर्जा प्राप्त गर्ने सबै परिवार राप्तीसोनारी–४ का स्थानीय हुन् । लामो समयदेखि जग्गाको स्वामित्व नपाएका परिवारले पुर्जा पाएपछि सुरक्षित बसोबास र सम्पत्तिको कानुनी अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि उनीहरूलाई राज्यबाट उपलब्ध हुने विभिन्न सेवा तथा सुविधामा पहुँच बनाउनसमेत सहज हुने विश्वास गरिएको छ ।










Discussion about this post