बाँके फागुन २१ गते ।
बाँके जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्लाभर करिब ६३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिएका छन्।
शाहीका अनुसार अहिले मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने कार्य भइरहेको छ। राति करिब ८ बजेसम्म मतपेटिका सङ्कलन कार्य सम्पन्न हुने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी गरिने उनले बताए।
मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार बाँकेका तीन वटा निर्वाचन क्षेत्रका ८१ वटा वडामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। मतदान बिहान सुरु भएर बेलुका ५ बजेसम्म सञ्चालन गरिएको थियो।
निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गराउन जिल्लाभर करिब २ हजार ४ सय कर्मचारी परिचालन गरिएको थियो। सुरक्षा व्यवस्थाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा निर्वाचन प्रहरी लगायत सुरक्षा निकायका ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगन्जका अनुसार बाँके जिल्लाका तीन निर्वाचन क्षेत्रबाट कुल ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्। जिल्लाका ८१ वटा वडासँगै कारागारहरूमा पनि मतदान केन्द्र व्यवस्था गरिएको थियो।
यसैगरी नेपालगन्ज कारागार, नौबस्ता कारागार र पशु सेवा कार्यालय परिसरमा गरी ३ वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो। जिल्लाभर १ सय ३९ मतदान स्थलमा ४ सय मतदान केन्द्र मार्फत मतदान सम्पन्न गरिएको हो।













Discussion about this post