बाँके चैत २२ गते ।
लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा समसामयिक विषयदेखि महत्वपूर्ण विधेयकहरूमाथि छलफल हुने तय गरिएको छ।
बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरूले विशेष समयमा समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको छ। त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले “लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक” सभामा पेश गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, मुख्यमन्त्री चेत नारायण आचार्यले “जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव मगरले जानकारी दिएका छन्।
लामो समयपछि बस्न लागेको प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारका महत्वपूर्ण विधेयकहरू अघि बढ्ने अपेक्षा गरिएको छ, जसले प्रदेशको नीति तथा संरचनागत सुधारमा प्रभाव पार्ने विश्वास गरिएको छ।













Discussion about this post